नेपालले केही दुग्ध पदार्थको आयात प्रतिबन्ध हटाउने दियो संकेत
काठमाडौं । विभिन्न नौ प्रकारका दुग्धजन्य पदार्थ आयातमा ११ महीनाअघि प्रतिबन्ध लगाएको सरकार भारतको चर्को लबिङपछि कम्तीमा दुईथरी दुग्ध पदार्थमा त्यस्तो प्रतिबन्ध हटाउन सकारात्मक देखिएको छ ।
गत शुक्रवार र शनिवार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा भारतले आफ्नो मुलुकमा उत्पादित दुग्धजन्य वस्तुको नेपाल निर्यातमा देखाएको चासोलाई ध्यानमा राखेर प्रतिबन्ध फुकाउन सकिने संकेत दिएको हो ।
दुग्ध पदार्थ आयातमा लागेको प्रतिबन्ध हटाउन लामो समयदेखि भारतको दबाब खेपिरहेको सरकार उक्त दबाबसामु झुक्न लागेको संकेत दिएको छ ।
स्वदेशी डेरी उद्योगसँग अर्बौं रुपैयाँको दुग्ध पदार्थ मौज्दात रहन गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०८० फागुनमा अर्को निर्णय नभएसम्मका लागि भनेर दुग्ध पदार्थ आयात स्थगन गर्ने निर्णय गरेको थियो । फलस्वरूप भारतको लोकप्रिय ब्रान्ड अमूललगायत दुग्ध पदार्थको आयात रोकिएको थियो ।
‘नेपालमा पर्याप्त उत्पादन नहुने दुग्ध पदार्थहरू चिज र ह्वे (दूध र दहीको पानी) को आयात खोल्न सकारात्मक रहेको जवाफ नेपालले दिएको छ,’ भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने यो विषय उल्लेख छैन ।
मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भारतले प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरे पनि नेपालले देशभित्र पर्याप्त उत्पादन नहुने दुग्ध पदार्थको आयात मात्र खोल्न सकारात्मक रहेको सन्देश दिएको बताए ।
‘जस्तै पिज्जामा प्रयोग गरिने मोजरेला नेपालमा उत्पादन नहुने रहेछ । नेपाली उद्योगहरूको मागका आधारमा यस्ता दुग्ध पदार्थको आयात खुलाउन सकारात्मक रहेको भनेका हौं,’ उनले भने, ‘भारतले मह आयात पनि खुलाउन आग्रह गरेको थियो । यसमा हामीले नेपाली महले बजार नपाएको अवस्था रहेको भन्दै यसको आयात खुला गर्ने प्रतिबद्धता जाहेर गरेनौं ।’
भारतीय लगानीको डाबर नेपालले महको आयात खुला गर्न आग्रह गर्दै आएको छ । नेपाली महबाट आवश्यक गुणस्तर कायम गर्न गाह्रो भएको दाबी गर्दै उक्त कम्पनीले यसको आयात खुला गर्न सरकारलाई चिठी लेखेको थियो ।
सरकारले २०८० फागुन ३ गते नौ प्रकारका दुग्ध पदार्थको आयातमा लगाएको प्रतिबन्धले विदेशी पर्यटकले चाहेअनुसार दुग्ध पदार्थका विभिन्न परिकार बनाउन समस्या भएको व्यवसायीले बताउँदै आएका छन् ।
तारे होटेलहरूमा उच्च गुणस्तरको नौनी (बटर), मोजरेला र फेन्च चिजहरू खपत हुन्छन् । गुणस्तरीय चिज उपलब्ध नहुँदा पर्यटकले चाहेअनुसारको गुणस्तरीय पिज्जा दिन गाह्रो भएको उनीहरूले बताउँदै आएका छन् ।
नेपाल–भारत वाणिज्य तथा उद्योग संघ (निक्की) ले अहिलेको वार्ताले द्विपक्षीय लगानी र व्यापारका लागि थप सघाउने उल्लेख गरेको छ ।
उक्त वाणिज्य बैठकले व्यापार र पारवहनमा नयाँ उत्साह थपेको भन्दै निक्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पारवहन र वाणिज्य सन्धिको समीक्षाले विद्यमान सम्झौताहरूमा संशोधन, मापदण्डहरूको समन्वयका साथै रक्सौल–वीरगञ्ज रेल लाइनको विद्युतीकरणसहित व्यापारमा सघाउनेछ ।’
संघले नेपालको अनुरोधअनुसार २ लाख मेट्रिक टन गहुँ नेपालमा निर्यात गर्ने निर्णयको पनि स्वागत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनमा लगाइएको भार वहनको सीमा हटाइने सहमति भएको छ ।
यसअनुसार अब भारतीय मालवाहक गाडीसरह यो रूटमा नेपाली मालवाहक सवारी सञ्चालन हुनेछन् । अहिले सवारीसाधनको आकारअनुसार १८ दशमलव ५ टन र २८ टनसम्म मात्र भार बोकेर हिँड्न पाइन्छ ।
यसैगरी तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसा (धाम्रा) र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्ने, कोलकाता विमानस्थलबाट तेस्रो मुलुकमा सामान आयातनिर्यात गर्न पाउने र त्यसका लागि लेटर अफ एक्सचेन्जहरूलाई छिटो टुंग्याउने सहमति भएको छ ।
निक्कीले नेपाल–भारतबीच बनाइने नयाँ एकीकृत जाँच चौकीको सहमतिलाई पनि स्वागतयोग्य भनेको छ । नेपाल–भारत नाकाको नेपालगञ्ज एकीकृत जाँच चौकी, काँकडभिट्टाको आईसीडी र निर्माणाधीन दोधारा–चाँदनी एकीकृत जाँच चौकीसम्म रेलसेवा सञ्जाल विस्तार गर्न नेपालले अनुरोध गरेको छ ।
भारतीय पक्षले भने दुवै देशबीच अन्तरआबद्धता बढाउन रेलसेवा सञ्जाल विस्तारका लागि आवश्यक सर्वेक्षण गरिने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले उल्लेख गरेको छ ।
तारे होटेलहरूलाई स्तरीय परिकार बनाउन समस्या
सरकारले ११ महीनाअघि नौ प्रकारका विदेशी दुग्ध पदार्थको आयातमा लगाएको प्रतिबन्धले विदेशी पर्यटकले चाहेअनुसार दुग्ध पदार्थका विभिन्न परिकार बनाउन गार्हो भएको पाँचतारे होटेलहरूले बताएका छन् ।
उनीहरूका अनुसार प्रतिबन्धित दुग्ध पदार्थ खैरो (ग्रे) बजारमा उपलब्ध छ तर तिनको गुणस्तरमा ढुक्क हुन सक्ने अवस्था छैन । मूल्य पनि बढी तिर्नुपरेको व्यवसायीको भनाइ छ ।
तारे होटेलहरूमा उच्च गुणस्तरको नौनी (बटर), मोजरेला र फ्रेन्च चिजहरू खपत हुन्छन् ।
पर्यटन व्यवसायी शशिकान्त अग्रवालले पनि दुग्धजन्य पदार्थमाथि लागेको प्रतिवन्धका कारण तारे होटेलमा आउने पर्यटकलाई माग अनुसार दुग्धजन्य पदार्थ उपलब्ध गराउन कठिनाई भएको बताए । यसले गर्दा तारे होटेलको बिजिनेसमै नकारात्मक असर पुगेको उनको भनाई छ ।
पर्यटकहरु अन्तर्राष्ट्रिय मापदण्डको दुग्धजन्य पदार्थहरु खोज्छन । यसमध्ये केही पदार्थ नेपालमा उत्पादन नै हुँदैन् । भारतबाट आयात गर्न पनि प्रतिवन्ध लागेको छ । पर्यटकहरुलाई माग अनुसारको दुग्धजन्य पदार्थ उपलब्ध गराउन नसक्दा नेपालको आतिथ्यदेखि उनीहरु विस्तारै बेखुशी हुन थालेको अग्रवालले जानकारी दिए ।
‘अहिले आयात रोकिँदा हामीले विकल्पको रूपमा स्थानीय उत्पादन नै प्रयोग गरिरहेका छौं,’ चन्द्रागिरि हिल्स (रिसोर्ट) का एक्जुकेटिभ सेफ जीवेश पोखरेलले भने, ‘तर, स्वदेशी उत्पादनको गुणस्तर हामीले पहिले प्रयोग गरिरहेको जति छैन ।’
उनले गुणस्तरीय चीज उपलब्ध नहुँदा पर्यटकले चाहेअनुुसारको गुणस्तरीय पिज्जा दिन गाह्रो भएको बताए । नेपालमा गुणस्तरीय दुग्ध पदार्थ आपूर्ति गर्न सक्ने केही डेरीहरू भए तापनि तिनले मागअनुसार आपूर्ति गर्न नसकेको उनको भनाइ छ ।
‘अहिले हामीलाई चीज बटर आपूर्ति गर्ने डेरी उद्योगको उत्पादन सीमित छ । स्रोतसाधन कम हुँदा पर्याप्त मात्रामा आपूर्ति गर्न सकेका छैनन् । दुग्ध विकास संस्थानको बटर, घिउ राम्रो छ, तर निजीक्षेत्रलाई ऋणमा दिने र राम्रोसँग आपूर्ति गरिदिने प्रणाली नै छैन,’ पोखरेलले भने ।
उनका अनुसार चन्द्रागिरि हिल्स (रिसोर्ट) मा दैनिक १० किलो बटर खपत हुन्छ ।
सरकारले गतवर्षको फागुन ३ गते विभिन्न नौ किसिमका दुग्धजन्य पदार्थको आयातमा रोक लगाउने घोषणा गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन ३ गते खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई ‘दूध तथा दुग्ध उत्पादनको आयात स्थगन सम्बन्धमा’ लेखेको पत्रअनुसार विभिन्न एचएस कोड भएका नौ किसिमका दुग्धजन्य वस्तु आयातमा रोक लगाउने भनिएको छ ।
यसमा बटरदेखि चीज, चिल्लो हटाइएको दूधलगायत वस्तु छन् ।
पैठारीमा पूर्ण रोक लगाइएका वस्तुमा चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्ल्यूएमपी), एसएमपी, ह्वे र परिवर्तित ह्वे, जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको गुलियो पारेको वा नपारेको, नौनी (बटर), घिउ, छुर्पी, प्रशोधित, भुजुरी वा धूलो नपारेको चिज, भुजुरी पारेको वा धूलो पारेको सबै प्रकारका चिज छन् ।
पोखरेलका अनुसार सरकारले दुग्धजन्य ती वस्तुको आयात रोके पनि बजारमा भने उपलब्ध हुने गरेको छ । साविकमा प्रतिकिलो १ हजार २०० रुपैयाँ अमूल बटर किन्दै आएको भए पनि ग्रे मार्केटमा त्यसको मूल्य १ हजार ६०० रुपैयाँ पर्ने गरेको चन्द्रागिरि हिल्सका पोखरेलले बताए ।
सरकारले आयात प्रतिबन्ध लगाएपछि भारतको लोकप्रिय अमूलका दुग्ध पदार्थ र अन्य कम्पनीहरूका दुग्ध पदार्थको आयातमा निकै कमी आएको भन्सार विभागका तथ्यांक छ ।
पूर्णरूपमा रोक लगाइएकामध्ये एचएस कोड ०४०६३००० भएको प्रशोधित भुजुरी वा धूलो नपारेको चिजको आयात शून्य छ । आयातमा पूर्ण रोक लगाएको भनिए पनि केही वस्तु औपचारिक रूपमा भन्सार प्रक्रिया पूरा गरेर आयात भएको देखिन्छ ।