तोरीबारीमा मौरी चराउन ३ जिल्लाका किसानबीच भागबण्डा: १ अर्बको मह उत्पादन



विराटनगर । तोरी सिजनको सुरुवातसँगै मोरङ, सुनसरी, र झापाका मौरीपालक किसानहरूका लागि मौरी चरन क्षेत्र निर्धारण गर्न मोरङका १७ स्थानीय तहका तोरीबारीको भागबण्डा गरिन्छ ।

मह उत्पादक संघ मोरङका अध्यक्ष रोशन पाठकको नेतृत्वमा कात्तिक पहिलो साता हुने बैठकले किसानहरूका लागि मौरी चराउन क्षेत्र बाँडफाँड गर्ने प्रचलन छ ।

यस प्रक्रियाले किसानहरूलाई तोरी खेतीको सिजनमा तोकिएको क्षेत्रबाहेक अन्यत्र मौरी चराउन रोक लगाउँछ । नियम उल्लङ्घन गरेमा संघले आगामी सिजनमा ति किसानलाई मौरी चरनका लागि ठाउँ उपलब्ध गराउँदैन ।

यस वर्षको भागबण्डाअनुसार चिसाङ खोलादेखि उर्लाबारी र सुनवर्षीसम्मको तोरीबारी झापाका किसानलाई दिइएको छ । चिसाङ खोलाको पश्चिमतर्फका क्षेत्रहरू मोरङ र सुनसरीका किसानहरूले पाएका छन् । मोरङ, सुनसरी, र झापाका करिब ३५० व्यवसायिक मौरीपालक किसानहरूले आफ्ना झण्डै ३२ हजार मौरीका घार मोरङका तोरीबारीमा राखेका छन् ।

तोरी खेतीको करिब तीन महिनाको अवधिमा यी मौरीहरूले एक घारबाट ४० किलोसम्म मह दिने गर्छन् । उत्पादनको समयमा मौरीका घार तोरीबारीमै रहन्छन् । तोरीको फूल झरेपछि किसानहरू आफ्ना मौरीका घार घर फर्काउँछन् ।

मह उत्पादक संघका केन्द्रीय सचिव तथा मोरङको लेटाङ–९, जाँतेका किसान इमनाथ पोखरेलका अनुसार तोरी सिजनमा मोरङका तोरीबारीबाट मात्र १२ लाख ८० हजार किलो मह उत्पादन हुने प्रारम्भिक अनुमान छ । प्रतिकिलो महको मूल्य ८ सयका दरले बिक्री हुने भएपछि यसले करिब १ अर्ब २ करोड ४० लाख रुपैयाँको आम्दानी गर्ने देखिएको छ ।

पोखरेल आफैंले १५० मौरीका घारबाट ६० क्विन्टल अर्थात् ६ हजार किलो मह उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनका मौरी घार मोरङको होक्लावारी, वाहुनी, र रंगेलीका तोरीबारीमा राखिएका छन् । गत वर्ष उनले ५० क्विन्टल मह उत्पादन गरेका थिए।

मह उत्पादक संघका अध्यक्ष रोशन पाठकसँग २५० युरोपियन ‘एपिस मेलीफेरा’ जातका मौरीका घार र ५० स्थानीय ‘सेरेना’ जातका घार छन् । उनले यस सिजनमा मेलीफेरा जातका मौरीबाट १० हजार किलो र सेरेना जातका मौरीबाट १ हजार किलो मह उत्पादन गर्ने लक्ष्य राखेका छन् । यो महको मूल्य करिब ८८ लाख रुपैयाँ हुने अनुमान छ ।

मौरी पालनको चुनौती र अवसर

मौसमले साथ दिएमा मौरी पालन व्यवसाय निकै फाइदाजनक हुने किसानहरूको अनुभव छ । तोरी खेतीका लागि मौरीका घारबाट ६–७ पटकसम्म मह निकाल्न सकिन्छ । तर, ढुसी लाग्ने, विषादी प्रयोग हुने, र घाम नलाग्ने जस्ता समस्याहरूले उत्पादनमा बाधा पुर्‍याउँछन् ।

तोरी, धनिया, फापर, र चिउरी जस्ता बालीको फूलबाट मह उत्पादन सकिएपछि मौरीलाई फागुनदेखि जेठसम्म जंगलमा लगिन्छ । जंगली फूलहरूको रसबाट पनि मह उत्पादन गरिन्छ । जंगली महको मूल्य प्रतिकिलो १२०० रुपैयाँसम्म पुग्छ ।

महसँगै किसानहरूले बीउ मौरी र मौरीका घार बिक्री गरेर पनि आम्दानी गर्दै आएका छन् । पाँच फ्रेम मौरीसहितको घारको मूल्य १२ हजार रुपैयाँ पर्छ भने २० फ्रेम मौरीसहितको घार ३० हजार रुपैयाँमा बिक्री हुने पोखरेल बताउँछन् ।

मह उत्पादन भए पनि बजारको समस्या भएको उनी बताउँछन् । सबै मह एकैपटकमा बिक्री नहुने समस्या रहेको उनको भनाइ छ ।

‘समयले साथ दिँदा मौरी पालन व्यवसायबाट मनग्गे आम्दानी हुँदै आएको छ । तर बजारमा समस्या छ,’ पोखरेलले भने, ‘एकै पटकमा बिक्री हुँदैन । खुद्राखुद्री बिक्री हुन्छ,’ पोखरेलले भने ।

मौरीले मंसिरदेखि जेठसम्म मह उत्पादन दिन्छन् । त्यसपछि असारदेखि असोजसम्म मौरीलाई घरमा राखेर कृतिम आहारा, जस्तै चिनीको घोल खुवाएर पाल्नु पर्ने व्यवसायी बताउँछन् ।

मह उत्पादनलाई थप व्यवस्थित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाले यस वर्षदेखि उपकरण र प्रशोधनमा ५५ लाख रुपैयाँ लगानी गरेको छ । योजनाले किसानहरूलाई आधुनिक उपकरण र प्रशोधनका सुविधा प्रदान गरेर मह उत्पादनलाई थप व्यावसायिक बनाउन सहयोग गर्दै आएको छ ।

मोरङ, सुनसरी, र झापाका प्रमुख मौरी चरन क्षेत्रहरू तोरो फूल्ने सिजनमा मौरीका घार प्रशस्तै देख्न पाइन्छ । मोरङका उर्लाबारी, मधुमल्ला, लेटाङ, टाँडी, जाँते, केरावारी, वेलवारी, कानेपोखरी, वाहुनी, हरकपुर, रञ्जनी, सुन्दर हरैचा, सलकपुर, मृगौलिया, र तेतरीयाका तोरीबारीहरू मौरी चरनका लागि प्रयोग गरिएका छन् ।

नेपालमा वार्षिक २ अर्ब ४० करोड रुपैयाँबराबरको ५ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । खपत भने ६ हजार मेट्रिक टन छ ।

मह आयातमा प्रतिबन्ध

सरकारले मह आयातमा अहिले प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसहित विभिन्न मुलुकबाट आयात हुने महमा गत जेठ तेस्रो सातादेखि महको आयातमा प्रतिबन्ध लगाएको थियो । नयाँ मह उत्पादन भएर बजारमा आउनै लाग्ने बेलामा आयात फुकुवा गर्न चलखेल भइरहेको भन्दै नेपाल मौरिपालक महासंघले आपत्ति जनाएको छ ।  

भारत लगायतका देशबाट सस्तो र विभिन्न ब्राण्डमा आयात हुने महका कारण स्वदेशी किसानले उत्पादन गरेको महले बजार नपाएको गुनासो आएपछि सरकारले आयातमा प्रतिबन्ध लगाएको छ ।

आयातमा प्रतिबन्ध लागेपछि चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा नेपालमा २ करोड ८४ लाख ७४ हजार रुपैयाँबराबरको १ लाख २ हजार ९२ किलो विभिन्न मह नेपालमा आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा भने १७ करोड ६१ लाख ७८ हजार रुपैयाँबराबरको ८ लाख ८ हजार ४ सय ७१ किलो मह नेपालमा भित्रिएको थियो ।

नेपालमा मुख्यगरी दक्षिणी छिमेकी मुलुक भारत, टर्की, संयुक्त अरब इमिरेट्स, भुटान, चीन, पोर्चुगल, युके, थाइल्याण्ड, मलेसियालगायतका मुलुकबाट मह आयात हुँदै आएको छ । कूल आयातको झण्डै ९८ प्रतिशत भारतबाट आयात हुन्छ ।

स्वदेशी किसानले उत्पादन गर्ने प्रतिकिलो महको लागत मूल्य ४ सय ३५ रुपैयाँ पर्छ । लागत खर्च, मुनाफा, बैंक व्याजलगायत जोडेर यो मह बजारमा ८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको उनको भनाई छ ।

भारतबाट आयात हुने मह नेपाली महको तुलनामा गुणस्तरहिन र मिसावट भएपनि निक्कै महँगो मूल्यमा बिक्री हुने गरेको महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले बताए ।


विनोद भण्डारी