मनाङ एयरको हेलिकप्टर र ताराको विमान धुलिखेलको आकाशमाथि ठोकिनबाट ‘टिकास’ले जोगायो



काठमाडौं । मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान आकाशमा ठोक्किनबाट जोगिएका छन् ।

बुधबार विहान सवा ७ बजे आसपास काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल (करिब ३६ किलोमिटर) पूर्वतर्फ धुलिखेल नजिकको आकाशमाथि हेलिकप्टर र जहाज ठोक्नबाट जोगिएका हुन् ।

तारा एयरको विमानमा रहेको टिकास (ट्राफिक कोलिजन अभोइडेन्स सिस्टम)ले विमान नजिकै केही बस्तु हुन सक्ने सूचना दिएपछि विमानका पाइलटको सावधानीका कारण हेलिकप्टर र विमान आकाशमा ठोक्किनबाट जोगिएका हुन् । दुई हवाई सेवामा यात्रु सवार थिए ।

टिकासले ट्राफिक एडभाइजरी (टीए) जारी गर्दै विमानका पाइलट पीएस नगरकोटीलाई सचेत गराएपछि उनले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग सम्पर्क गरेका थिए । त्यसपछि मात्र ३ सय फिटको भर्टिकल दूरीमा हेलिकप्टर रहेको थाहा भएको थियो ।

विमानस्थलका एक अधिकारीकाअनुसार ट्राफिक एड्भाइजरी सम्भावित दुर्घटनालाई रोक्न जारी हुने गर्छ । ‘टिए जारी भएको अवस्थामा एटीसी वा अन्य कसैको सहायताभन्दा पनि पाइलटले विमानभित्र रहेको फ्लाइट म्यानेजमेन्ट सिस्टमको सहायताले निर्णय गर्दै विमान उडाउने गर्छन्,’ उनले भने ।

उडान नम्बर १२२ बाट लुक्ला-काठमाडौं उडान भरिहरेको तारा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरणको तयारी गर्दै थियो । विमानस्थलमा रहेका एटीसीले तारा एयरको विमानलाई ८ हजार ५ सय फिटको उचाइमा रहने अनुमति दिएका थिए।

सोही समयमा मनाङ एयरको ९ एनएओई नम्बरको हेलिकप्टर ८ हजार २ सय फिटको उचाइमा पुगेको थियो । जबकी एटीसीले हेलिकप्टरलाई ७ हजार ५ सय फिटको उचाइमा उडान गर्न अनुमति दिएका थिए । हेलिकप्टर र विमान आमनेसामने हुने अवस्था आएपछि तारा एयरको विमान ९ हजार फिट माथि पुगेको थियो ।

हेलिकप्टर र विमानबीचको होरिजेन्टल १ किलोमिटरभन्दा कम र भर्टिकल ३०० फिटको दूरी हुन पुगेको थियो ।

भीएफआर र आइएफआर उडानमा दुईवटा विमानबीचको भर्टिकल दूरी १ हजार फिटको फरक हुनुपर्छ । एटीसीबाट अनुमति लिएर आपतकालीन अवस्थामा ७/८ सय फिटसम्मको सेप्रेसन गर्न मिल्ने भए पनि ३०० फिटको दूरीमा हेलिकप्टर र विमान पुग्नुलाई ‘हेडअन पोजिसन’ मानिने उडान सुरक्षामा कार्यरत एक उच्च अधिकारी बताउँछन् ।

मनाङ एयरको हेली उडाएका क्याप्टेन पी चौलागाईंले बादलका कारण आफू तोकिएभन्दा माथिको उचाइमा पुगेको एटीसीलाई जनाकारी गराएका थिए ।

तर मनाङ एयरले भने टिकासमा जानकारी आउनु स्वभाविक भएको बताएको छ । मनाङ एयरका अपरेशन म्यानेजर पवन थापाले टिकासमा जानकारी आउनु स्वभाविक भएको बताए । ‘टिकासमा जानकारी आउनु स्वभावि हो,’ थापाले भने, ‘त्यो हुँदैमा दुर्घटना हुन लाग्यो भन्ने हुँदैन । घटनाहरु हुन्छन् भनेर नै विमानमा उच्च प्रविधिको विकास गरिएको हुन्छ ।’

उनले विमान ल्याण्ड गर्दा समेत जमिन नजिक भएपछि जानकारी आउने जस्तै आकाशमा पनि केही बस्तु नजिक हुँदा जानकारी आउने र विमानका चालकले त्यसलाई सहजै व्यवस्थापन गर्ने जनाए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईवटा विमानको दूरी सम्बन्धी नियम उल्लंघन गरेकालाई अहिलेसम्म कुनै कारबाही भने गरेको छैन । जबकी यस्तो गम्भीर प्रकृतिको घटनामा प्राधिकरणले तत्काल अग्रसरता लिँदै गलत गर्नेमाथि कारबाही गर्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै प्राधिकरणका कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

पछिल्लो समय विमानहरुको दुर्घटना बढीरहँदा प्राधिकरण नेतृत्व जिम्मेवार बन्न नसकेको ति अधिकारीको आरोप छ ।

‘आकाशमा हेलिकप्टर र विमान ठोक्किनबाट जोगिएका छन्,’ प्राधिकरण स्रोतले भन्यो,’यस्तो गम्भीर घटनामा पनि प्राधिकरण नेतृत्व मौन बस्दा अचम्म लागेको छ । प्राधिकरणको ध्यान हवाई सेवाको सुधारभन्दा अन्यत्रै हुँदा यस्ता घटनामा कारबाही हुन नसकेको हो ।’

पाइलट थकित हुनुका साथै प्राधिकरणको नियमन कमजोर हुँदा यस्ता समस्या आउने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी बताउँछन् । ‘कम जनशक्तिबाट विमानस्थल सञ्चालन गर्ने महानिर्देशकको उर्दी हुनाले कन्ट्रोलर समेत थकित अवस्थामा सही निर्णय लिन नसकेको देखिन्छ’ उनले भने ।

एटीसी, पाइलट, विमान र हेलिकप्टरको नियमित अनुगमन गर्नु पर्ने प्राधिकरणले आफ्नो जिम्मेवारी अनुसार काम गर्न नसकेको उनको भनाइ छ । ‘जसले गर्दा एटीसीदेखी पाइलटसम्म नियम नमान्ने क्रम ह्वात्तै बढेको छ । यस्ता घटना बढ्दा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार भएको छैन । जसले आगामी दिनमा ठूलो दुर्घटना निम्त्याउने जोखिम छ,’प्राधिकरणका एक अधिकारी भन्छन् ।

यसअघि गत वैशाखमा कतार एयरको विमान र सिम्रिक एयरको हेलिकप्टर पनि ठोकिनबाट जोगिएका थिए ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको बोइङ ७८८ विमान सिम्रिक एयरको बिथ्री हेलिकप्टरसँग ठोक्किनबाट जोगिएका थिए ।

करिब ३२० किलोमिटर प्रतिघण्टा भन्दा बढीको रफ्तारमा उडिरहेको कतार एयरको विमान नजिक सिम्रिक एयरको हेलिकप्टर पुगेपछि टिकासले टीए जारी गर्दै कतार एयरलाइन्सका पाइटललाई सचेत गराएको थियो ।

विमानस्थल कार्यालयका अधिकारीकाअनुसार टिकासले टिए जारी गर्दा कतार र सिम्रिक एयरको होरिजेन्टल दूरी करिब २ माइल तथा भर्टिकल दूरी करिब २०० फिट रहेको थियो ।

हेटौंडाको आकासमाथि ३५ मिनेट विमान होल्ड गर्दै विमानस्थलमा अवतरण गर्ने क्रममा टिकासबाट टिए जारी हुँदा पाइलटले संयमित हुँदै विमान अवरण गराएका थिए ।


क्लिकमान्डु