सहुलियत ब्याजमा १ खर्ब ३५ अर्ब ऋण खोज्दै नेवानि, ५५ अर्ब सरकारी ऋण तिर्नेदेखि नयाँ जहाज किन्नेसम्मको तयारी



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्न र हाल उडानमा रहेको जहाजको ऋण तिर्न सहुलियत ब्याजदरमा नयाँ ऋणको खोजी सुरु गरेको छ । निगमले मंगलबार सार्वजनिक आह्वान गरेर स्वदेशी तथा विदेशी संस्थाबाट १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण रकम माग गरेको छ ।

वायुसेवा निगमले मागेको यस्तो ऋणबाट ५५ अर्ब रुपैयाँ हाल उडानमा भएकै जहाजको ऋण तिर्ने, नयाँ जहाज खरिद गर्नमा ७५ अर्ब रुपैयाँ प्रयोग गर्ने र ५ अर्ब रुपैयाँ भने निगमले आफ्नै ह्यांगर बनाउनमा प्रयोग गर्ने उल्लेख गरेको छ ।

निगमले स्वदेशी तथा विदेशी संस्थाबाट सस्तो दरमा ऋण लिने र हाल कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषबाट लिएको ऋण चुक्ता गर्ने उल्लेख छ । निगमले ति दुई नियकाबाट अन्तर्राष्ट्रिय उडानमा रहेको ४ वटा एयवसका जहाज खरिद गर्दा लिएको ऋण करिब ४७ अर्ब रुपैयाँ पुगेको छ । सरकारले खरिद गरेर दिएको चिनियाँ जहाजको पनि ऋण बाँकी नै छ ।

निगमले अहिले वार्षिक करिब १० प्रतिशतमा लिएको ऋणभन्दा कम ब्याजदरमा नयाँ ऋण लिने र पुरानो चुक्ता गर्ने रणनीति बनाएको वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्लिकमान्डुलाई जानकारी दिए ।

‘अहिले प्रयोग गरिएको ऋणको ब्याज महंगो भएकोले निगमलाई व्यवस्थापन मिलाउन असहज भएको छ । हामीलाई स्वदेशी तथा विदेशी संस्थाहरुले ऋण दिन्छौ भनिपनि रहेको अवस्थामा औपचारिक रूपमा प्रस्ताव मागेपछि कसले कतिमा दिने रहेछन भन्ने स्पष्ट हुन्छ’ उनले भने, ‘ अहिले निगमलाई थप जहाज खरिद गर्न, भएको जहाजको महँगो ऋण चुक्ता गर्नुपर्ने चुनौति छ ।’

निगमले बनाएको १० वर्षे योजनाअनुसार अन्तर्राष्ट्रिय उडानका लागि ३ वटा नयाँ जहाज तत्कालै खरिद गर्न यो ऋण मागिएको हो । निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न पर्याप्त जहाज अभावको कारण नाफामूलक गन्तव्यमा जानै नसकेको बुझाइ पनि निगमका अधिकारीको छ ।

निगमले वित्तीय व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी संस्थाबाट मागेको यस्तो ऋणमा २५ अर्ब रुपैयाँ भने परिवर्तन नहुने ब्याजदरमा दिनुपर्ने शर्त राखेको छ । यस्तो ऋणमा निगम र ऋणदाताबीचको आपसी समझदारीमा ब्याजदर तय गरिने पनि उल्लेख छ । यस्तो ऋणको लागि ब्याजदर तथा विदेशी मुद्राको सटहीदर सरकारले स्वीकृति गरे अनुसार तय गर्न भने सकिने उल्लेख निगमले गरेको छ ।

निगमले लिने नयाँ ऋणको सुरक्षण तथा धितोको रूपमा निगमसँगै भएका जहाज, जहाज खरिदको परियोजना तथा निगमका भौतिक सम्पत्ति हुने पनि उल्लेख गरेको छ ।

निगमले ४५ दिनको समय दिएर मागेको यस्तो वित्तीय व्यवस्थापनको प्रस्ताव आगामी मार्च ७ (फागुन २४) मा खोलिने पनि उल्लेख गरेको छ । प्रस्ताव पेस गर्ने कम्पनीले कम्पतिमा १ अर्ब डलरको परियोजनामा लगानी गरेको र न्यूनतम ७ वर्षको अनुभव भएको हुनुपर्ने शर्तसमेत तोकेको छ ।

निगमले तत्कालै २ वटा एयरवसकै जहाज भाडामा लिने पनि तयारी गरिरहेको छ । निगमले भाडामा जहाज लिने विषयमा अध्ययन गराएको एक प्रतिवेदन सञ्चालक समितिमा पेस गरिसकेको जानकारी दिएको छ । सञ्चालक समितिले आवश्यक छलफलपछि उक्त प्रस्ताव पारित गरेमा २ वटा अन्तर्राष्ट्रिय उडानका जहाज तत्कालै भाडामा आउने पनि उल्लेख गरिएको छ ।

यसका साथै निगमले ३ वटा आन्तरिक उडानको लागि नयाँ जहाज खरिद गर्दै छ । यसका लागि निगमले मागेको प्रस्तावमाथि आवश्यक छलफल गरेर प्राविधिक मूल्यांकन भइरहेको निगमको भनाइ छ । निगम सञ्चालक समितिमा ल्याएर उपयुक्त कम्पनी छनोट गर्न मात्रै बाँकी रहेको निगमको भनाइ छ । निगमले आन्तरिक स्रोतबाटै ३ वटा आन्तरिक उडानको लागि जहाज खरिद गर्न लागेकोले उक्त प्रस्ताव स्वीकृत गराए आन्तरिक उडानको लागि जहाज किन्न समस्या नभएको पनि निगमको भनाइ छ ।


क्लिकमान्डु