वित्तीय क्षेत्रमा संकुचन, १५ दिनमा ८ अर्ब निक्षेप संकलन, ४ अर्ब कर्जा प्रवाह



काठमाडौं । १५ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार चैत १ सम्ममा बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब २ अर्ब निक्षेप संकलन गरेका थिए ।

चैत १४ गतेसम्म आइपुग्दा प्रणालीमा निक्षेप ८ अर्ब रुपैयाँले बढेर ५४ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार यो अवधिमा वाणिज्य बैंकमा १० अर्ब निक्षेप थपिएको छ । चैत १ गतेसम्म ४७ खर्ब ६१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप अहिले ४७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो ।

अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप भने २ अर्बले घटेर ६ अर्ब ३९ अर्बमा झरेको छ । वाणिज्य बैंकबाहेकका अन्य वित्तीय संस्थाको निक्षेप चैत १ गतेसम्म ६ खर्ब ४१ अर्ब रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार यो अवधिमा बैंकिङ प्रणालीबाट हुने कर्जा लगानी ४ अर्बले बढेको छ । चैत १ गतेसम्म ४८ खर्ब १२ अर्ब रुपैयाँ रहेको कर्जा लगानी अहिले ४ अर्बले बढेर ४८ अर्ब १६ अर्ब पुगेको छ ।

१५ दिनको अवधिमा वाणिज्य बैंकबाट हुने कर्जा प्रवाह २ अर्बले बढेर ४२ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । चैत १ गतेसम्म ४२ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । अन्य बैंक तथा वित्तीयबाट चैत १ गतेसम्म ५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको थियो । अहिले १ अर्बले बढेर ५ अर्ब ४३ अर्ब पुगेको छ ।

१५ दिनको अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गएको छ । चैत १ गते ८५.६९ प्रतिशत रहेको सीडी रेसियो अहिले ८५.६० प्रतिशत छ । बैंकिङ प्रणालीमा २ खर्ब हाराहारी लगानीयोग्य रकम छ ।

पुसयता नै कर्जाको माग र निक्षेप संकलन दुवै सुस्त बन्दै गएको छ । यसले बजारमा आर्थिक चलायनमान हुन सकेको छ । माघमा पनि वाणिज्य बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह आधाभन्दा कम थियो । माघमा २५ अर्ब ६ करोडले निक्षेप थपिँदा कर्जा प्रवाह आधाभन्दा कम अर्थात् ११ अर्ब ८२ करोड रुपैयाँ मात्र थियो ।


क्लिकमान्डु