एकल विन्दु सेवा कार्यान्वयन हुन सक्दैन् : सीइओ भट्ट



काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शुसिल भट्टले एकल विन्दु सेवा कार्यान्वयन गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधी सभाको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न आयोजना गरेको बैठकमा बोर्डका सिइओ भट्टले बोर्डबाट एकल बिन्दु सेवा दिन खोज्दा काममा चुस्तता ल्याउन नसकिएको बनाए ।

‘जग्गा सम्बन्धी निर्णय भूमिसुधार मन्त्रालयबाट हुनुपर्छ । हामीले एकल बिन्दु सेवा दिन्छौँ भनेर केही हुदैँन’ भट्टले भने, ‘त्यसैले बोर्डले फिजिकल फाइल भन्दा पनि वेवमा आधारित एकल विन्दु सेवा सुरु गर्न खोजेको छ । हाल हामीले वेवबाट आन्तरिक काम गर्न सुरु गरेका छौँ । परिक्षण सफल भयो भने बोर्डसँग सम्बन्धित सबै निकायलाई वेव प्रणालीमा जोड्ने तयारी छ ।’
समितिको बैठकमा सिइओ भट्टले प्रधानमन्त्रीको अध्यक्षतामा हुने निर्णय कार्यान्वयन गर्न पनि समय लाग्ने गरेको बताए ।
‘बोर्ड बैठकले निर्णय गरेलगत्तै हामीले निर्णय कार्यान्वय गर्न सम्बन्धित निकायमा पत्राचार गर्छाै’ भट्टले भने, ‘तर, अन्य निकायले कामलाई गति दिन पहल गर्दैनन् ।’

नेकपा एमालेका सांसद समेत रहेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्णय गर्दा गलत हुन सक्ने तर निर्णय नगर्दा केही पनि नहुने व्यवस्थाले समस्या भएको बताए ।

‘हामीले समितिमा व्यापक छलफल गरेर निर्णय नगर्नेलाई पनि कारबाही हुने कानून बनाउनु पर्छ’ पाण्डेले भने,‘निर्णय नगर्नु त ठुलो अपराध हो । निर्णय नगरेर मैले राम्रो गरे भन्ने व्यवस्था परिवर्तन गर्नै पर्छ ।’ समितिको बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कमजोर कानूनी आधारमा बोर्डको गठन भएकाले ऐन संसोधन गर्नु पर्ने बताए ।

‘देशको आर्थिक विकास गर्न वैदेशिक लगानी बढाउनै पर्छ’ भट्टराईले भने, ‘त्यसकालागि बोर्डलाई बलियो बनाउनु पर्छ । बोर्डको नेतृत्व प्रधानमन्त्रीपछिको दोस्रो बरियताको शक्तिशाली व्यक्तिले गर्ने व्यवस्था बनाउने पर्छ ।’

बैठका बोर्डका तर्फबाट आगामी आर्थिक वर्षको बजेटमा समेटिनु पर्ने विभिन्न विषयमा सुझाव दिइएको थियो । बोर्डका अधिकारीहरुले बोर्डमा कामको लोड बढ्ने भएकाले कर्मचारीको दरबन्दी थप हुनु पर्ने, विज्ञ कर्मचारी नियुक्त हुनु पर्ने, बोर्डले विभिन्न आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गरिरहेकाले सरकारले बजेट कटौती गर्न नहुने माग गरे ।

लगानीकर्तालाई इमेल

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले सन् २०१९ मा आयोजित लगानी सम्मेलनमा सहभागी लगानीकर्तालाई नेपालमा लगानीका लागि आउन सम्पर्क गरिएको जानकारी दिए ।

उनका अनुसार बोर्डले सम्मेलनमा सो केसका रुपमा राखिएका विभिन्न आयोजनामा लागानी गर्न इच्छा व्यक्ति गरेको सबै लगानीकर्तालाई इमेल मार्फत पत्राचार गरेको छ ।

‘हामीले लगानी सम्मेलनको उपलब्धी पनि विश्लेषण गरिरहेका छौँ’ भट्टले भने, ‘केही लगानीकर्ता हाम्रो सम्पर्कमा पनि आउनु भएको छ । उहाँहरुले लगानी पनि गर्न सक्नु हुन्छ ।’

निजगढका विषयमा छिट्टै टुंगो लगाउने

बैठकमा सांसदले बोर्डले अगाडी बढाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी नआएका विषयमा चासो राखेपछि सिइओ भट्टले उक्त आयोजनाका विषयमा विभिन्न क्षेत्रका विज्ञ राखेर थप अध्ययन हुन लागेको जानकारी दिए ।

‘विगतमा लगानीकर्ता आएनन् । विभिन्न पक्षमा विवाद पनि भयो । तर ,निजगढ विमास्थल बनाउनु पर्छ भन्नेमा धेरैको एकमत छ’ भट्टले भने, ‘यो आयोजनालाई कसरी अगाडी बढाउने भन्ने विषयमा एउटा थप बृहत अध्ययन गर्नु जरुरी छ हामीले विभिन्न क्षेत्रका विज्ञ राखेर अध्ययन गर्न खोजेका छौँ । । बोर्डले छिट्टै यो आयोजना टुंगो लगाउने छ । ’


क्लिकमान्डु