सडक विभागको स्पष्टिकरणः हस्तान्तरण अगावै १२० होइन, २ वटा पुल भत्किएका हुन्



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विकास तथा प्रविधि समितिमा १२० वटा पुल हस्तान्तरण नहुँदै भत्किएको कुरा यथार्थ नभएकोसडक विभाग अन्तर्गतको पुल महाशाखाले दाबी गरेको छ ।

महाशाखाले हस्तान्तरण हुनु अघि नै २ वटा पुलमात्रै भत्किएको बताएको हो । साथै, थप ८ वटा पुल बाढीका कारण निर्माणाको अवधिमै भत्किएको महाशाखाको भनाइ छ ।

गत शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समिति बैंठकमा बोल्दै मन्त्री यादवले जुन कम्पनीले सडक निर्माणको टेण्डर पायो पुलको पनि उसैले डिजाइन पनि उसैले बनाउने गरेको भन्दै अहिले १२० पुल निर्माण भएर हस्तान्तरण नभई भत्किएको अवस्थामा रहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । तर मन्त्रीको भनाइमा पूर्णसत्य नभएको पुल महाशाखाका उप–महानिर्देशक उमेश विन्दु श्रेष्ठले जानकारी दिए ।

‘हस्तान्तरण हुनुअघिनै उदयपुरमा रहेको त्रियुगा र धनुषामा रहेको कमला पुल भत्किएका हुन्,’ उनले भने ।

सोही बैठकमा मन्त्री यादवले निर्माणाधिन १४ सय पुल बनाउँदा देशभित्र डिजाइन प्रक्रिया र टेण्डर लिने प्रक्रियामा ऐन बाधक रहेको बताएकी थिइन् ।

जमिन मुनी २ फिट भसियो कमला पुल
धनुषामा रहेको कमला पुल वर्षामा आएको बाढीका कारण २ फिट तला भासिएको थियो । अहिले त्यो पुल कसरी भासिएको र कति खर्च लाग्छ भन्ने कुराको अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ ।

सडक विभागले २०६८ जेठ ३१ मा नै एमएस पप्पु लुम्बिनी जेभीलाई २४ करोड ९० लाख ९७ हजार २ सय रुपैयाँको लागतमा पुल निर्माणको जिम्मा दिएको थियो । शुरुमा यो पुलको निर्माण कार्य ४ वर्षमा सक्ने गरी सम्झौता भएको तर पछि निर्माण कम्पनीले समयमा काम पूरा गर्न नसकेपछि म्याद थप गर्दै २०७८ को असारमा निर्माण पूरा गर्ने सहमति भएको थियो ।

‘१० वर्षपछि पुल तयार भयो तर हस्तान्तरण नहुँदै भासियो,’ श्रेष्ठले भने, ‘बाढीले पुल २ फिट जनिम मुनी भासिएको छ ।’

१२ वटा स्पान र १३ वटा पिलरमध्ये सिरहा पूर्वतर्फबाट दोस्रो पिलर भासिएको उनले बताए ।

‘दुई वटा स्ल्याव सर्पोटेड पनि भासिएको छ,’ उनले भने, ‘यो पुल निर्माणमा लागेको लागत पनि २४ करोड ३२ लाख ६२ हजार ११६ रुपैयाँ भुक्तानी भइसकेको छ ।’

श्रेष्ठका अनुसार ४ सय ७० मिटर लम्बाइ रहेको पुलको २०७८ साउन दोस्रो साता उदटन गरी यातायात सञ्चालन गर्ने योजना थियो ।

बाढीले ४० मिटर बगायो त्रियुगा पुल
महाशाखाका उपमहानिर्देशक श्रेष्ठका अनुसार २१० मिटर लामो यो पुलको ४० मिटर भाग बाढीले बगाएको छ । सडकको साइडबाट भने १ सय मिटर हुन्छ ।

‘पुलको दक्षिण पट्टीको दोस्रो पिल्लर १० इञ्चभन्दाबढी धसिएको छ,’ उनले भने, ‘२५÷२५ मिटर को दुईवटा स्ल्यावको बीचको भाग धसिन पुगेको हो ।’

श्रेष्ठका अनुसार यो पुल १२ वर्षपछि निर्माण सम्पन्न भएको थियो । तर त्रियुगा नदीमा आएकोे बाढीका कारण पुल बगेको उनले बताए ।

‘यो पुल उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं–५ बेल्ही र शिवाई जोड्ने त्रियुगा नदीमा निर्माण सम्पन्न भइसकेको थियो,’ उनले भने, ‘मोटेरेबल पुलमा हालको अवस्थामा पुनः निर्माण गर्नुपर्ने स्थितिमा पुगेको या के कति क्षतिबारे बिस्तृत अध्ययन आइसकेको छैन ।’

पुल बगाउनुअघि ९९ प्रतिशत काम सकिएको श्रेष्ठको भनाइ छ । यो पुलको २०६७ मै महालक्ष्मी लोकप्रिया जेभीसँग विभागले ११ करोड २४ लाख ६२ हजार ३२९ रुपैयाँको लागतमा ३ वर्षको अवघिमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । निर्माण कम्पनीले ५ पटकसम्म म्याद थप्दा बल्ल पुलको निर्माण काम सम्पन्न गरेको थियो ।

कसरी यो अवस्था आयो ?
सम्पन्न हुन लागेको यी दुई पुलको यो अवस्था आउनुमा समयमै ठेक्का नलाग्नु र निर्माण कम्पनीले समयमै काम नगर्दा यस्तो भएको हुन सक्ने श्रेष्ठको अनुमान छ ।

‘ठेक्का लागेर काम शुुरु हुँदा पनि सरकारबाट समयमा बजेट विनियोजित भएन । तर वास्तविकता के हो त्यो अनुन्धानपछिमात्रै थाहा हुन्छ,’ उनले भने ।

यता सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले राम्रोसँग तयारी नभइ ठेक्का गर्दाको प्रतिफलको रुपमा यो समस्या भएको नेपालको भनाइ छ ।

‘पूर्वतयारी, अध्ययन र अनुसन्धान नगर्ने अनि अफठ्यारो परेपछि बहाना बाजी गर्ने प्रवृतिको विकासले लागत बढ्ने, निर्माण सम्पन्न हुँदा पनि भत्किने जस्ता सम्स्या आउछन्,’ उनले भने ।

यस्ता ठूला आयोजना सञ्चालन गर्दा पूर्वतयारीमा प्रशस्त समय, अनुसन्धान र त्यसमा आउन सक्ने समस्यामा चासो राखेर छलफल गर्ने लगायत विज्ञसँग पारमर्श गरी काम अघि बढाउँदा यी पुलमा भएको समस्या कमै मात्रमा देखिने नेपालको भनाइ छ ।

‘हाम्रोमा २ जना कन्सल्टट्यान्ट फिल्डमा सर्भे गरेर आउँछन् । तर त्यो पर्याप्त अनुसन्धान होइन,’ उनले भने, ‘२ सयदेखि ५ सय मिटरसम्मको पुल बनाउने भनेको ठूला आयोजना हुन् ।’

‘मेलम्ची आयोजनामा पनि पूर्वतयारी र अध्ययन नभएको भन्ने कुरा अहिले आएर थाहा भयो,’ उनले भने, ‘यी पुलमा पनि पूर्व तयारीमै काम गर्न सकेको भए यो समस्या आउने थिएन ।’

योजना कसरी छनोट हुन्छन्, आधार के हुन् र कसले छनोट गर्छ भन्ने कुरामै मूख्य समस्या रहेको नेपालको भनाइ छ ।

यो वर्ष बाढीका कारण मात्र कुल २८ वटा पुल पूर्णरुपमा क्षति भएका छन् । आर्थिकरुपमा भने १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको नेपालको भनाइ छ ।

जसमा पुराना पुल १५ वटा, निर्माणाधिन नयाँ ८ र अरु सामान्य ५ गरी २८ वटा पुलमा क्षति भएको उनले बताए ।


क्लिकमान्डु