अर्थमन्त्रालयले बजेट नदिएपछि मूलपानी क्रिकेट स्टेडियमको निर्माणले गती लिएन



काठमाडौं । विकास निर्माणको योजना बनाउने तर समयमा काम नसक्ने सरकारको पुरानै रोग हो । राष्ट्रियस्तरका विभिन्न योजना बजेटको अभाव, स्थानीयसँगको विवाद, मुआव्जा विवाद तथा भ्रष्टाचारआदिमा पिल्सने गरेका छन् ।

चितवनमा धुर्मुस सुन्तलीले बनाउने भनिएको क्रिकेट मैदानका लागि व्यापक तयारी चलिरहँदा मूलपानीको क्रिकेट मैदान भने विगत १५ वर्षदेखि थला परेको छ ।

कीर्तिपुर क्रिकेट मैदानको विकल्पको रुपमा हेरिएको मूलपानी क्रिकेट मैदान निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । क्रिकेटको सम्भावित व्यापकतालाई मध्यनजर गरी तत्कालिन क्यानको प्रस्तावमा सरकारले २०६१ सालमै मूलपानीमा २ अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउने योजना बनाएको थियो । तर योजना बनाएको लगभग १५ वर्ष पुगिसक्दा पनि योजनाले मूर्तरुप लिन सकेको छैन ।

सरकाले बजेट नदिएको कारण काम रोकिएको स्थानीयसँगको सहजकर्ता आरके विष्ट बताउँछन । सरकारले गम्भीर रुपमा नलिएकाले मैदान बन्न नसकेको उनको आरोप छ ।

२ सय ९४ रोपनीमा फैलिएको मैदानमा ५२ आना जग्गा विभिन्न व्यक्तिको नाममा थियो । उक्त जग्गाको मुआब्जा विवाद चर्किएपछि राखेपले जग्गाको पैसा दिने भने पनि जग्गा धनिले मानेनन् ।

उनीहरुले जग्गाको साटो मुआब्जा नभइ जग्गा नै पाउनुपर्ने माग राखेका थिए त्यसपछि राखेपले जग्गाको बदला जग्गा नै दिने निर्णय गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पठाएको फाइल लामो समयपछि पास भएको थियो ।

उनीहरुलाई जग्गाको बदला जग्गा नै दिए पनि उनीहरु अझै टहरो बनाइ रंगशालाभित्रै बस्दै आएका छन् । उनीहरुलाई हटाउन सरकारले कुनै पनि पहल नगरेको विष्टको भनाइ छ ।
जग्गाको सट्टाभर्ना भइसकेकाले अब उनीहरु चाँडै मैदानभित्रबाट हट्ने पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले बताए ।

स्टेडियम निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै उनले अर्थमन्त्रालयले अझै स्वीकृति नदिएको बताए ।

‘२०७२ सालबाट बहुवर्षे स्वीकृतीका लागि युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पठाइएको हो, त्यहाँबाट अर्थमन्त्रालयमा पठाइए पनि अर्थमन्त्रालयले अझै आधिकारिक पत्र पठाएको छैन,’ उनले भने ।

उनका अनुसार डीपीआरलगायतका सबै काम पूरा भइसके पनि बजेटको अभावमा निर्माण कार्य सुचारु हुन नसकेको हो ।

होस्टेल, स्विमिङ पुल, कभर्ड हल र एकेडेमीसहित १ अर्ब २२ करोड ३८ करोड रुपैयाँ लागतको यो योजनामा स्टेडियम निर्माणका लागि मात्रै ९७ करोड २९ लाख छुट्याइएको छ । त्यहाँ हालसम्म तीनवटा ब्लक (प्याराफिट) मात्रै निर्माण भएका छन् ।

बाँकी ५ बटा ब्लक बनाउनका लागि ७९ करोड ४४ लाख आवश्यक पर्ने इञ्जिनियर प्रभात बडाल बताउँछन् ।

२ वर्ष अघि बनेका ३ वटा प्याराफिट निर्माण भइसकेपछि निर्माण कार्य लगभग शुन्य स्थितीमा छ ।

हाल कम्पाउण्ड वाल लगाउने काम भइरहेको इञ्जिनियर बडालले बताए ।

२३ सय मिटर कम्पाउण्ड वाल लगाउन ४ करोड ९१ लाख रुपैयाँमा ड्रागन/कालिका जेवीलाई ठेक्का दिइएको थियो । प्याराफिट बनाउन नमिल्ने भएकाले पश्चिमबाट सडक लैजान ११ मिटर छाडी कम्पाउण्ड वाल लगाउने काम हाल जारी छ ।

सडक डिभिजन कार्यालयले काठमाडौं भक्तपुर सडक खण्डको रंगशाला निर्माण स्थलमा पर्ने सडक र मेलम्ची खानेपानी आयोजनाको पाइप स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि आवश्यक पहल भइएरहेको बडालले जानकारी दिए ।

हालसम्म आयोजनमा २१ करोड ८५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

रंगशाला बनाउनका लागि २ आर्थिक वर्षका लागि आवश्यक पर्ने स्रोतको सुनिश्चितताका लागि मन्त्रालयमार्फत् अर्थमन्त्रालयमा प्रस्ताव पठाएको पनि बडाल बताउँछन ।

उनका अनुसार २०७६/७७ मा सरकारले रंगशालाका लागि १० करोड रकम विनियोजन गरेको छ । हाल २ करोड २० लाखको सुनिश्चितता मागिएको, २०७७/७८ र २०७८/७९ का लागि रंगशाला बनाउन आवश्यकपर्ने बाँकी रकमको सुनिश्चितता अर्थमन्त्रालयसँग माग गरिएको छ ।

अघिल्लो बर्ष असोजदेखि नै माग गरिएको भए पनि अर्थले सुनिश्चितता नदिएकाले काम रोकिएको उनले बताए ।

अर्थमन्त्रालय धाउँदा धाउँदै हैरान
परिषदका कर्मचारीहरु बजेटको सुनिश्चितताका लागि हरेक दिन अर्थमन्त्रालय धाउँदा धाउँदै हैरान भएको बताउँछन । अर्थमन्त्रालयको उदासिनताले आयोजनाको काम पर धकेलिदै गएको उनीहरुको आरोप छ ।

सार्वजनिक खरिद नियमावलीले गर्दा पूरा बजेटको सुनिश्चितता नहुँदा १० करोड रुपैयाँको टेन्डर गर्न पनि नसकिएको उनीहरुको गुनासो छ ।

‘अघिल्लो वर्षको भदौमै मन्त्रीज्यूले बजेट चिन्ता नगर्नुहोस्, धुर्मुस सुन्तलीले बनाउने क्रिकेट स्टेडियमभन्दा पहिले हाम्रो बन्छ, मैले बजेटका लागि प्रधानमन्त्रीलाई भनिसकेको छु भन्नुहुन्थ्यो तर हामी अहिले अर्थमन्त्रालय धाउँदैमा हैरान भएका छौ,’ एक कर्मचारीले भने ।

पूर्ण बजेट पाएमा २ वर्षभित्र स्टेडियम निर्माण पूरा हुने र त्यसको एकवर्षएभित्र एकेडेमीसहित निर्माण पूरा गर्न सकिने उनीहरुको दाबी छ ।

यस्तो छ मैदानको इतिहास
२०६१ सालमा मूलपानीमा २ वटा अन्तर्राष्ट्रिय मैदान बनाउने गरी योजना बनाइएको थियो । यसैअनुरुप २०६२ सालमा माथिल्लो मैदानको निर्माण शुरु गरियो । मैदान सम्याउने तथा वरपर तारबार तथा पर्खाल लगाउने काम यतिबेलै भएको थियो । २०६४ सालमा क्यानले पाकिस्तानी क्युरेटलाई ल्याएर पिच तयार पारेको थियो ।

तर त्यसको ६ वर्षसम्म कुनै पनि काम भएन ।

२०६८ मा सरकारले ४ करोड रुपैयाँ लगानी गरी पश्चिमी क्षेत्रमा पेवेलियन बनाइयो । २०७० सालमा क्यानको कार्यसमितिबिरुद्ध काम नगरी पैसा खाएको आरोप लागेपछि मैदान निर्माणको काम झनै लम्बियो ।

२०७१ साल माघमा पहिलो चरणको टेण्डरमार्फत् राखेपले तल्लो मैदानको काम शुरु गर्यो । तर मैदानभित्र पर्ने करिब ५२ आनाको जग्गामा मुआब्जाको विवाद चर्किएपछि राखेप विवाद समाधान तिर लाग्यो ।


क्लिकमान्डु