सडक विभागसँग प्राविधिक विश्वासको अभाव : कोटेश्वरको जाम हटाउन ‘अण्डरपास’ कि ‘फ्लाइओभर’ ?



काठमाडौं । काठमाडौंको प्रमुख जाम हुने क्षेत्र कुन होला ? धेरैले धेरै ठाँउको नाम दिन सक्छन् । जसलाई आफू हिड्ने स्थानमा नै जाम भएको लाग्न सक्छ । तर काठमाडौं उपत्यका भित्र यतिखेर सबैभन्दा बढी जाम हुने क्षेत्रको रुपमा कोटेश्वरलाई लिइन्छ ।

एक डेढ वर्ष पहिले काठमाडौंको प्रमुख जाम हुने क्षेत्रमा कलंकी पनि पर्दथ्यो । चीन सरकारको लगानीमा अण्डरपास सहितको सडक बनेपछि कलंकीमा सामान्यता कम जाम हुने गरेको छ ।

कोटेश्वरका जामका कारण चक्रपथ क्षेत्रको सवारी आवागमन नै सबैभन्दा बढी प्रभावित हुने गरेको छ । यस्तै बनेपा, भक्तपुर भएर काठमाडौंको मुख्य शहरमा छिर्न खोज्नेले लामो समय कोटेश्वर जडीबुटी खण्डमा लामो समय जाममा बस्नु पर्छ । जसका कारण यात्रुले ठूलो हैरानी भोग्नु परेको छ ।

जामका कारण बिरामी समयमै अस्पताल पुग्न सकेका छैनन् । जाम हटाउने भन्दै सरकारले गरेका भनिएका पहलले समेत सार्थक रुप पाउन सकेको छैन । कोटेश्वर जडीबुटी खण्डमा भइरहेको ठूलो जाम हटाउने ट्राफिक प्रहरीको प्रयासले समेत मूर्त रुप पाउन सकेको छैन ।

सडक विभाग तथा अन्य सरकारी निकायले सो क्षेत्रको जाम हटाउने विभिन्न उपायको बारेमा खोजी गरिरहेका छन् । तर उपयुक्त विकल्प के होला भनेर हालसम्म भेऊ भने पाउन सकेको छैन । सो क्षेत्रको जाम हटाउने विभिन्न विकल्प अगाडि सारिएको भएपनि कुनलाई चाही प्रयोग गर्ने भन्ने बारेमा भइरहेको छलफल् मध्ये केही उपाय प्रस्तुत गर्ने जर्मको गरिएको छ ।

सरकारी निकायका अनुसार सो सडक खण्डको जाम हटाउन दीर्घकालीन समाधनका लागि सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) लाई जाम हटाउने उपायको खोजी गरिदिन सरकारले आग्रह गरेको छ । अघिल्लो साल नै जाइनकाले सो क्षेत्रको जाम हटाउने बारेमा पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । लगानी कुन स्रोतबाट जुटाउने भन्ने विषयमा उपयुक्त निष्कर्ष ननिस्केका कारण जाइकाको अध्ययनले मूर्त रुप पाउन सकेको थिएन ।

जाइकाले नै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको थियो । सोही सडकमा रहेको सवारी चापको समाधानमा समेत जाइकाले विगतका वर्षदेखि नै चासो देखाउँदै आएको सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

जाइकाले गरेका पूर्वसम्भाव्यता अध्ययनमा तीन विकल्प देखिएका छन् । जसमा मुख्य सडकमै वा विमानस्थलको क्षेत्रमा ‘अण्डरपास’ वा ‘ओभरफ्लाइ रहेको छ ।

विमानस्थलको क्षेत्रभित्रै ‘अण्डर पास’ निर्माण गर्नु नै सबैभन्दा उत्तम हुने देखिएको छ । विश्वका धेरै देशमा माथि ‘रनवे’ र तल ‘अण्डरपास’ हुने गरेको उनको दावी छ ।

‘रनवे’ को तल ‘अण्डरपास’ निर्माण गर्दा निर्माण अवधिमा समेत सवारी साधन आवतजावतमा समस्या नहुने विकल्प अगाडि सारिएको छ ।

सडक विभागले जापानी टोलीसँग पटक–पटक वाता गरिसकेको छ । सो स्थानमा सरकार आफैँले अण्डरपास बनाउने प्राविधिक विश्वास नभएकाले जटिलता देखिएको हो ।

जाइकाले भने कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ वा ‘ओभरफ्लाई’ सँगै एउटै प्याकेजमा अरनिको राजमार्ग विस्तारको काम अघि बढाउन चाहेको छ ।

सूर्यविनायकबाट धुलिखेलसम्म सडक विस्तार पनि सँगसँगै गर्ने जापानी टोलीले बताउँदै आएको छ ।

अरनिको राजमार्ग, धुलिखेल–सिन्धुली–बर्दिवास सडक र मध्यपहाडी लोकमार्गका कारण यहाँ हँुदै दैनिक धेरै सवारीसाधन उपत्यका बाहिर जाने आउने गरेका छन् ।

लामो दूरीका सवारी साधनसँगै भक्तपुर, काभ्रे वा काठमाडौँका कागेश्वरी–मनोहरा नगरपालिकातर्फ जाने सवारीसाधन दैनिक जाममा पर्दा चालक र यात्रु हैरान छन् । पहिले कोटेश्वर–जडीबुटी सडकमा मात्रै यो समस्या भए पनि अहिले तीनकुनेबाट लोकञ्थलीसम्मै बढेको पाइन्छ । कार्यालय समयमा र साँझको समयमा सडकमा जामको समस्या बढी छ ।

सडक विभागले जडीबुटी जामको समाधानका लागि विभिन्न विकल्प पनि खोज्दै आएको छ । भक्तपुरसम्म जाने सवारी साधनलाई बिजुलीबजारबाटै वाग्मती करिडोर हुँदै बालकुमारीको मनोहरा करिडोरबाट कौशलटारसम्म जाने गरी करिडोरको बनाइएको छ ।

सडक विभागले विमानस्थलसँगको समन्वयमा कोटेश्वर–जडीबुटी सडकमा एक–एक लेन थप्ने तयारी गरेको छ । तर ती सबै समाधान दीर्घकालीन नहुने भन्दै उपयुक्त समाधानका रुपमा ‘ओभरपास’ वा ‘फ्लाइओभर’ निर्माण गर्नुपर्ने देखिएको छ ।


क्लिकमान्डु