कहाँ खर्च हुन्छ रेमिट्यान्स ? अध्ययन भन्छः ४०% उपभोगमा, २८% घरजग्गा किन्न र २५% ऋण तिर्न



काठमाडौं । बैदेशिक रोजगारीमा गएका आफन्तले पठाएको रेमिट्यान्स तपाईं केमा खर्च गर्नुहुन्छ । दैनिक गर्जो टार्न, छोराछोरी पढाउन, ऋण तिर्न, घरजग्गा किन्न वा बचत गर्न ?

पहिलेको तुलनामा रेमिट्यान्सको रकम बचत हुन थालेको एक तथ्यांकले देखाएको छ । पहिला पहिला ८० प्रतिशतभन्दा बढी रकम उपभोग र ऋण तिर्नमा खर्च हुन्थ्यो ।

तर, राष्ट्र बैंकको पछिल्लो अध्ययन अनुसार उपभोगमा जम्मा ४० प्रतिशत मात्रै रेमिट्यान्स खर्च भएको पाइएको छ । यस्तै, २८ प्रतिशत घरजग्गा किन्न र बचत गर्नमा खर्च भएको पाइएको छ भने २५ प्रतिशत ऋण तिर्नका लागि खर्च गर्ने गरेको पाइएको राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले जानकारी दिए ।

विदेशबाट पैसा नेपाल पठाउँदा सेवा शुल्कवापत कुल रेमिट्यान्सको १.७ प्रतिशत शुल्क खर्च भएको अनुसन्धानमा देखिएको छ ।
डेपुटी गभर्नर श्रेष्ठका अनुसार राष्ट्र बैंकको अनुसन्धानमा वैदेशिक रोजगारीमा जानेमध्ये ३६.६ प्रतिशतले मात्रै बैंक खाता खोलेका छन् । त्यस्तै, ६.३ प्रतिशतले विदेश जानका लागि बैंकबाट मार्फत् लोन लिएर गएका छन् । बाँकीमध्ये अधिकांशले गाउँकै साहू महाजनसँग ऋण काढेर विदेश जाने गरेका छन् ।

अहिले रेमिट्यान्सको अधिकांश रकम उपभोग, घर जग्गा खरिद तथा निर्माण र ऋण तिर्नमा मात्रै केन्द्रित भएको भन्दै अब यसलाई विभिन्न तालिमहरु दिएर उद्यममा समेत आकर्षित गर्नुपर्ने श्रेष्ठले बताए ।

‘रेमिट्यान्सको धेरै रकम घर जग्गा जस्ता कुरामा गयो, उपभोगमा भयो, अब उत्पादन बढाउने गरी चौतर्फी विकासका लागि खर्च गर्नुपर्छ,’ उनले भने ।

यसका लागि वित्तीय साक्षरता बढाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

गत आर्थिक वर्ष कुल ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाली मुद्रा डलरको तुलनामा कमजोर हुँदा भने रेमिट्यान्स १७.५ प्रतिशतले बढेको छ भने जीडीपीमा रेमिट्यान्सको योगदान २५.४ प्रतिशत छ ।

राष्ट्र बैंकले रेमिट्यान्स खर्च हुने क्षेत्रलाई उत्पादनशिल क्षेत्रमा लगाउनका लागि जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने समेत भएको छ ।

यसका लागि राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेहरु र उनीहरुका परिवारलाई फाइनान्सियल साक्षरता सिकाउने, पूँजी बजारमा विशेष लगानीको औजार निर्माण गर्ने, भन्सार तथा अन्य करमा सुविधा दिने, सहुदियतपूर्ण कर्जा उपलब्ध गराउने जस्ता कार्यक्रम अगाडि सारेको श्रेष्ठले जानकारी दिए ।

त्यसैले विदेश जाने मानिस सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउनका लागि राष्ट्र बैंकले तत्कालै कुनै न कुनै कदम चाल्नुपर्ने उनको भनाइ छ ।


पुष्प दुलाल