कहाँ पुग्यो सेयर ब्रोकर कमिसनमा भ्याट लगाउने कुरा ? लाग्यो भने कसले तिर्ने ?




काठमाडौं । असार दोस्रो साता तातेको सेयर ब्रोकर कमिसनमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने बिषय अहिले केही मथ्थर भए जस्तो देखिएको छ ।

कर लगाउने निकाय आन्तरिक राजस्व विभाग र अर्थमन्त्रालयको राजस्व ब्यवस्थापन महाशाखा ब्रोकर कमिसनमा भ्याट लगाउने अडान भएपनि कुन विधी र प्रक्रियाबाट भ्याट उठाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

आफूहरु भ्याटमा दर्ता हुन समस्या नभएको तर कुन विधी र प्रक्रियाबाट भ्याट संकलन गर्ने भन्ने तय नभएकोले अझै अन्योल बाँकी रहेको ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी बताउँछन् ।

‘भ्याटमा दर्ता हुन हामीलाई कुनै समस्या छैन, तर यसअघि हामीले नउठाएको भ्याट पनि तिर्नु भनिएकोले त्यो बिषय मिलाउनु पर्यो, त्यसपछि यो विधि र प्रक्रियाले भ्याट संकलन गर्ने हो, तिमीहरु यसरी आऊँ भनेर हाम्रो नियामक धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयले भन्ने वित्तीकै हामी भ्याटमा दर्ता हुन्छौं,’ अध्यक्ष रेग्मीको भनाइ छ ।

ब्रोकर कमिसनमा भ्याट लगाउँदा अहिलेको सफ्टवयरको प्रणालीमा सुधार गर्नुपर्ने भएपनि त्यो काम भइसकेको आफूहरुलाई थाहा नभएको रेग्मीले जानकारी दिए ।

ब्रोकर भ्याटमा दर्ता भएर ब्रोकर कमिसनमा भ्याट उठाउनको लागि सफ्टवयरमा सुधार गर्नुपर्ने भएकोले सो काम हुँदै गरेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् ।

‘बोर्ड, नेप्से र ब्रोकर कमिसन मात्रै होइन राज्यले लिनुपर्ने अन्य करहरु पनि सेयर कारोबार हुने वित्तीकै कट्टा हुने प्रणाली अहिले प्रयोगमा छ, ब्रोकर कमिसनमा भ्याट लाग्ने भएपछि त्यसमा यो अप्सन पनि थप्नुपर्ने भयो, सफ्टवयरमा आवश्यक परिमार्जन गर्न सिडिएसलाई निर्देशन दिएका छौं, उसले सबै काम सकेपछि हामीलाई जानकारी दिन्छ र त्यसपछि अर्थमन्त्रालयसँग बसेर यो विषय टुंगोमा पुर्याउँछौं,’ प्रवक्ता गिरीले क्लिकमाण्डूसँग भने ।

भ्याट लाग्ने नै भएको हो ?

हो । सेयर ब्रोकरहरु भ्याटमा दर्ता नभै सुख छैन भन्छन् अर्थमन्त्रालयको राजस्व ब्यवस्थापन महाशाखा प्रमुख विष्णु नेपाल ।

‘यहाँ बुझाइमा फरक परेको हो, सेयर कारोबारमा भ्याट लाग्दैन, ब्रोकरहरु भ्याट छुटको सुचीमा छैनन्, त्यसकारण सेयर कारोबारमा भ्याट लाग्ने होइन, ब्रोकर कमिसनमा भ्याट लाग्छ, ब्रोकरहरु भ्याटमा दर्ता हुनुपर्छ,’ सहसचिब नेपालले क्लिकमाण्डूसँग भने ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलको भनाइ पनि त्यस्तै छ ।

‘सेयर ब्रोकर सेवा भ्याट छुटको सेवा होइन, उहाँहरु पहिलादेखि नै भ्याटमा दर्ता भएर आउँनु पथ्र्याे, अहिलेसम्म आउनु भएन, अब भ्याटमा दर्ता नभै हुदैन, भ्याट लाग्ने भनेको सेयर कारोबारमा होइन, ब्रोकर कमिसनमा हो,’ विभागका प्रवक्ता समेत रहेका पौडेलको भनाइ छ ।

पुरानो बेरुजु के हुन्छ ?

कर प्रशासनका अधिकारीहरु यो प्रश्नको सिधा जवाफ दिन मानिरहेका छैनन् । वा कानुनी बन्देज वा प्रक्रियाको कारण प्रष्ट जावाफ दिन सकिरहेका छैनन् ।

महालेखा परीक्षकको कार्यालयले विगत ४ बर्षयता केही ब्रोकरहरुको कारोबारमा भ्याट नलिएको भन्दै बेरुजु देखाउँदै आएको छ । सो बेरुजु असुल गर्नुपर्छ भन्ने प्रष्ट भनाइ महालेखाको छ ।

ब्रोकरहरु अहिलेसम्म आफूहरुले भ्याट नलिएकोले त्यस्तो बेरुजु तिर्न सक्दैनौं भनिरहेका छन् ।

‘हामीले बुझेसम्म भ्याट भनेको अप्रत्येक्ष कर हो, यो उपभोक्ताबाट उठाएर राज्यलाई दिने हो, हामीले यसअघि भ्याट उठाएकै छैन त कसरी राज्यलाई दिनु ?’ ब्रोकर एसोसिएसनका अध्यक्ष रेग्मीको भनाइ छ ।

मन्त्रालयका सहसचिब नेपाल भने ब्रोकर पहिला भ्याटमा दर्ता भएपछि मात्रै यो बिषयमा पहल गर्न सकिने बताउँछन् ।

‘पहिला त ब्रोकरहरु भ्याटमा दर्ता हुनुपर्यो, त्यसपछि उहाँहरुलाई कुनै ब्यवहारिक कठिनाइ परेको रहेछ भने कसरी त्यस्तो गाठो फुकाउन सकिन्छ भनेर पहल गर्न सकिएला, अहिले त ब्रोकर भ्याटमा दर्ता भएकै छैनन्, ब्रोकर र हाम्रो सम्बन्ध स्थापित भएकै छैन, उहाँहरु भ्याटमा दर्ता भएर नआउँन्जेल कर प्रशासनले केही गर्नै सक्दैन,’ नेपालको भनाइ छ ।

पुरानो बेरुजु के गर्न भन्ने बिषयको टुंगो आजको भोलि नै लाग्न नसक्ने विभागका उपमहानिर्देश पौडेल बताउछिन् ।

‘महालेखाले केही निश्चित ब्रोकहरुको भ्याटको कुरा उठाएर बेरुजु राखेको छ, अब हामीले सबै ब्रोकरको एसिसमेन्ट गर्नुपर्यो, उहाँहरुलाई साच्चै मर्का परेको छ भने समस्या सुल्झाउन सहयोग पनि गर्नुपर्ला, तर, त्योभन्दा पहिला त उहाँहरु भ्याटमा दर्ता भएर आउनु पर्यो, उहाँहरुलाई भ्याटको कारण समस्या भएछ भन्ने हामीलाई जानकारी हुन सबैभन्दा पहिला सम्बन्ध स्थापित हुनुपर्यो, त्यो भनेको उहाँहरु भ्याटमा दर्ता हुने भनेको हो, यो नभै केही गर्न सकिदैन, राज्यले कर असुल गर्छ नै,’ विभागका प्रवक्ता समेत रहेकी पौडेलको भनाइ छ ।

कसले तिर्छ त भ्याट ?

ब्रोकर भ्याटमा दर्ता हुनुपर्छ भन्नेमा अब दुबिधा रहेन । भ्याट तिर्ने पनि ब्रोकर कमिसनमै हो । तर, यो कमिसनमा भ्याट कसले तिर्ने भन्ने बिबाद अझै बाँकी नै छ ।

अप्रत्येक्ष कर भएकोले कमिसन जसले तिर्छ त्यसमा लाग्ने कर उसैले तिर्ने हो भन्नेमा कर प्रशासनका अधिकारीहरु एकमत छन् । अर्थात सेयर खरिद बिक्री गर्दा ०.०४ देखि ०.०६ प्रतिशतसम्म कमिसन लगानीकर्ताले तिरेका हुन्छन् । उनै लगानीकर्ताले कमिसनमा भ्याट जोडेर तिर्नुपर्ने भन्ने तर्क कर प्रशासनका अधिकारीहरुको छ ।

जस्तो एक लाख रुपैयाँको सेयर किन्दा कसैले ०.०४ प्रतिशतका दरले ४ सय रुपैयाँ कमिसन ब्रोकरलाई सेयर किन्ने ब्यक्तिले दिने हो । कर प्रशासनको यो भनाइ अनुसार अब कमिसन ४ सय र त्यसको १३ प्रतिशत भ्याट गरेर ४५२ रुपैयाँ दिनुपर्ने भयो ।

यो बिधीबाट भ्याट कार्यान्वयन गर्न केही समस्या हुन सक्ने विश्लेषण कर प्रशासनको छ । त्यसैले अहिले ब्रोकरले पाएको कमिसन भ्याट सहितको हो भनेर मान्ने र त्यसैमा भ्याट लिने प्रक्रिया सुरु गर्दा कार्यान्वयमा सहज हुने अधिकारीहरुको भनाइ छ ।

यसो गर्ने हो भने अहिलेकै कमिसन १३ प्रतिशत घटाएर राज्यले लिने हो भने भ्याटको झमेला नै नहुने केही ब्रोकरको भनाइ छ ।

‘हामीले लिएको कमिसन नै भ्याट सहित हो भन्ने मान्ने हो भने भ्याटमा दर्ताको रडाको किन गरिरहनु पर्यो ? हाम्रो कमिसन १३ प्रतिशतले घटाएर अर्काे कुनै नाममा राज्यले लिए भैहाल्यो नि,’ एक ब्रोकरले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल