पूर्वाधार विकास बैंकको लाइसेन्स नीतिः बिदेशीको ७० र स्वदेशीको १५ प्रतिशतसम्म लगानी




काठमाडौं । ठूला विकास आयोजनामा लगानी गर्नको लागि स्थापना गर्ने भनिएको पूर्वाधार विकास बैंकको प्रक्रिया अगाडि बढेको छ ।

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक संचालनको लागि लाइसेन्स दिने नीति पारित गरेपछि बैंक स्थापनको प्रक्रिया अगाडि बढेको हो ।

गत बिहिबार बसेको राष्ट्र बैंक संचालक समितिले पूर्वाधार विकास बैंकको इजाजत सम्बन्धि नीति पारित गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

‘गत बिहिबारको संचालक समितिले नीति पारित गरेको छ, यो नीति छिट्टै सार्बजनिक गरेर प्रक्रिया अगाडि बढाइन्छ,’ गभर्नर कार्यालयका निर्देशक समेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।

पूर्वाधार विकास बैंकको लाइसेन्स सम्बन्धि नीतिमा बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनै पर्ने ब्यवस्था गरिएको छ । विदेशी साझेदारीमा पूर्वाधार विकास बैंक स्थापना गर्ने भएमा कम्तिमा ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म विदेशी लगानीकर्ताको सेयर हुनुपर्ने ब्यवस्था गरिएको छ ।

स्वदेशी लगानीकर्ताले लगानी गरेर पूर्वाधार विकास बैंक स्थापना गर्न चाहेमा एउटै लगानीकर्ताको बढीमा १५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने नीतिगत ब्यवस्था गरिएको निर्देशक पण्डितले जानकारी दिए ।

यस्तै पूर्वाधार विकास बैंकको संचालकको योग्यता बाणिज्य बैंककै लागि तोकिएको योग्यता अनुसार नै हुनुपर्नेछ । पूर्वाधार विकास बैंकको लागि अन्य बैंक तथा वित्तीय संस्थाकोभन्दा फरक ढंगले नीतिगत ब्यवस्था गरिएको सहायक प्रवक्ता पण्डितको भनाइ छ ।

ब्यवस्थापिका संसदबाट हालै पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को परिच्छेद १४ को दफा १०७ मा पूर्वाधार विकास बैंक सम्बन्धि ब्यवस्था गरिएको छ । सो दफामा राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको स्थापना, सञ्चालन, नियमन, सुपरिवेक्षण, कारबाही, गाभ्ने गाभिने, प्राप्ति गर्ने वा खारेजीका सम्बन्धमा पूर्वाधार विकास बैंकको प्रकृति, परिमाण तथा लगानीलाई आधार मानी छुट्टै विशेष नीतिगत व्यवस्था गर्न वा निर्देशन दिन सक्नेछ भन्ने ब्यवस्था गरिएको छ ।

सोही दफाले गरेको ब्यवस्था अनुसार पूर्वाधार विकास बैंकको लाइसेन्स सम्बन्धि नीतिगत ब्यवस्था गरिएको हो ।

पूर्वाधार विकास बैंक स्थापनको लागि इमर्जिङ नेपाल नामक कम्पनीले तयारी गरिरहेको छ । पूर्वाधार विकास बैंक स्थापनको लागि स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्ने र त्यसको आवश्यक तयारी गर्ने काम आफूहरुले गरिरहेको इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले जानकारी दिए ।

‘बैंक स्थापना गर्नको लागि आवश्यक प्रशासनिक वा सचिवालयको काम गरिरहेका छौं, राष्ट्र बैंकले नीति पारित गरेर जारी गरेपछि प्रक्रिया अगाडि बढाउँछौं,’ प्रमुख कार्यकारी अधिकृत डा. आत्रेयले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु