अध्ययनले भन्योः नेपालका बैंकमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च




काठमाडौं । स्रोत नखुलेको सम्पत्ति पहिचान गर्न नेपालको बैंकिङ प्रणाली कमजोर देखिएको छ । फेन्टिलेक्ट र नेशनल बैंकिङ् इन्स्टिच्युटले संयुक्त रुपमा गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

बैंकहरु स्रोत नखुलेको सम्पत्ति पहिचान गर्ने कार्यमा प्रभाबकारी नहुँदा सम्पत्ति शुद्धीकरण हुन सक्ने खतरा रहेको सो प्रतिबेदनले औंल्याएको छ ।

सो अध्ययन सन् २०१६ को डिसेम्बर महिनामा गरिएको थियो । अध्ययनमा बिभिन्न बैंकका २३ जना ‘कम्प्लायन्स अफिसर्स’ (आन्तरिक नियम पालना गर्ने गराउने अधिकारी) ले भाग लिएका थिए ।

अध्ययनमा सहभागीमध्ये ९१ प्रतिशतले आफ्नो संस्थाको लागि सबैभन्दा ठूलो जोखिम आफ्ना ग्राहकको सम्पत्तिको स्रोतका बारे जानकारी नहुनु हो भनेका छन् ।

सम्पत्ति सुद्धिकरण सम्बन्धी नियम कानुनको पालना गर्न  प्रबिधि सबैभन्दा ठूलो कमजोरीको रुपमा रहेको पनि अध्ययनले देखाएको छ ।

प्रतिबेदनका अनुसार ९६ प्रतिशत सहभागीले प्रबिधि चुस्त नहुनुलाई प्रमुख समस्याको रुपमा लिएका छन् । साथै, ९१ प्रतिशत सहभागीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कामहरु स्वचालित ढंगले हुनुपर्ने बताएका छन् । बिकसित देशहरुमा ठूला कारोबारहरुको निगरानी प्रबिधिले स्वचालित ढंगले गर्ने गर्छ ।

यस्तै ७८ प्रतिशत सहभागीले उच्च ब्यवस्थापन र बोर्डले सम्पत्ति शुद्धीकरणका बिषयमा थप सहयोग गर्नुपर्ने सुझाब दिएका छन् । सो प्रतिबेदन गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबी नेपाल, नेपाल बैंकर्स एसोसिएसनका अध्ययक्ष अनिल केसरी शाहलगायतले सार्बजनिक गरेका थिए ।


क्लिकमान्डु