दशैंमा के खाँदै हुनुहुन्छ, कसरी खाँदै हुनुहुन्छ ?



काठमाडौं । दशैं लागेसँगै आम नेपालीहरुका घरमा खसी-बोका, च्यांग्रा, हाँस-कुखुरा लगायत जनावर तथा पशुपंक्षि मासुका लागि भित्र्याउने गरिन्छ । अघिल्ला वर्षहरुमा झैं यो दशैंमा पनि ठूलो संख्यामा खसीबोकाको व्यापार भइरहेको छ ।

टीका लगाउनेसँगै मासु खाने चाडको रुपमा पनि दशैंलाई आम रुपमा लिने गरिएको हुन्छ । तर पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याका कारण मानिसहरु आफ्नो स्वास्थ्य ख्याल गरेर मात्रै कस्तो मासु कसरी खाने भनी सजग हुने गरेको पाइन्छ । अचेल दशैं मनाउने प्रवृत्ति हेर्दा पहिले झैं मसलेदार खसीको मासु मात्रै खाने चलन केही मात्रामा भए पनि फेरिँदै गरेको देखिन्छ ।

विशेषगरी दीर्घरोग लागेका बिरामीहरुको सन्दर्भमा वा विभिन्न किसिमका रोग लागेका मानिसहरुलाई कतिपय परकार खानै नहुने भनी चिकित्सकहरुले सुझाव दिने गरेका छन् । जस्तो कि युरिक एसिड, मधुमेह, उच्च रक्तचाप, कोलस्टोर जस्ता बिरामीहरुले मासुका परिकारहरु खाँदा धेरै सजग रहनुपर्ने चिकित्सकहरु बताउने गर्छन् ।

माछामासु कति खाने कसरी खाने ?

माछा-मासु खानाले मानव शरीरमा प्रोटिन उपलब्ध गराउँछ । यो लाभदायक पनि मानिन्छ । तर कस्तो अवस्थामा खाइन्छ र कति मात्रामा खाइन्छ भन्ने कुराले नै यो कति फाइदाजनक हो भन्ने कुरा निर्धारण गर्ने अधिकांश चिकित्सकहरुको भनाइ छ । जनस्वास्थ्यविद् डा अरुणा उप्रेतीका अनुसार माछामासु खानै नहुने होइन । तर यो कति खाने कसरी खाने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

जस्तो निरोगी मानिसले पनि अत्यधिक मसला, चिल्लोपिरो र बोसोको प्रयोग गरेर मासु पकाउँदा त्यो हानिकारक हुने डा उप्रेतीको सुझाव छ ।

डा उप्रेती भन्छिन्, ‘साकाहारी मानिसहरुले माछामासु खाने मान्छेलाई पाप गरेको भन्दै आरोप लगाउने गरेको पाइन्छ । त्यस्तै माछामासु खाने मान्छेले पनि साकाहारीलाई हेप्ने गरेको पाइन्छ । यो दुबै खराब हो । भेज र ननभेज जे बन्न पनि पाइन्छ । तर यति मात्रै हो कि माछामासु खाए पनि आफ्नै भान्सामा स्वस्थकर पकाएर खानु राम्रो हुन्छ । बजारको खानाले राम्रो गर्दैन ।’

वर्षौंदेखि जंक फुड वा पत्रु खानाको विरोध गर्दै आएकी डा उप्रेती स्वयं भने जे खाए पनि आफ्नै भान्सामा पकाएर खाने गर्छिन् । क्लिकमान्डुसँगको कुराकानीमा उनले भनिन्,’कस्तो खाने कसरी खाने भन्ने कुराको एउटै जवाफ हाम्रा हजुरआमाहरुले पहिले पहिले भान्सामा जे जसरी पकाउँथे त्यस्तै खाना भान्सामा पकाएर खाने हो । त्यही हो स्वस्थकर खाना । खानाको विषयमा हामी पुरानै जमानामा फर्किनु नै राम्रो ।’

विश्लेषकहरुको एउटा महत्त्वपूर्ण भनाइ के छ भने, खाना राम्रो वा नराम्रो भन्दा पनि कति र कस्तो अवस्थामा खाँदै हुनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । तपाइँले शरीरलाई चाहिने भन्दा ३ गु्णा धेरै खाना खाँदै हुनुहुन्छ र आराम गरेर बसिरहनुभएको छ भने पक्कै पनि त्यो जतिसुकै राम्रो र शुद्ध खाना भए पनि राम्रो हुँदैन । यसमा शुद्ध र सफा खाना भन्दा पनि शरीरलाई चाहिनेभन्दा धेरै मात्राले हानी गर्ने विज्ञहरुको भनाइ छ ।

त्यस्तै सुत्ने बेला वा एक पटक खाना खाइसकेपछि । दुध दही जस्ता दुग्धजन्य पदार्थ खाने बेला । र कुन खानामा कुन तत्व पाइन्छ र कुनसँग मिसाएर के खाने जस्ता कुराहरुले खानाले कति फाइदा गर्छ कि बेफाइदा गर्छ भन्ने निर्धारण गर्ने विज्ञहरुको भनाइ छ ।

मासुको सन्दर्भमा पनि ठीक त्यस्तै मासु कति कसरी र कुन समयमा खाँदै हुनुहुन्छ भन्ने महत्त्वपूर्ण हुने विज्ञहरु बताउँछन् । उदाहरणका लागि मासु अत्यधिक चिल्लो पिरो, मसलेदार र बोसोयुक्त छ भने विशेषगरी विभिन्न रोग लागेका मानिसहरुले यस्तो खानै नहुने चिकित्सकहरु बताउँछन् ।

विशेषगरी दशैंमा मासु सुकाएर धेरै दिनसम्म खाइरहने पनि आम चलन छ । जुन परिकार पनि स्वास्थ्यका लागि हानीकारक मानिन्छ । यतिसम्म कि फूलपातीको दिनमा काटेको मासु सुकाउँदै दशमी र टीकापछि पनि खाइरहने चलन छ । यसरी झन्डै एक सातासम्म एउटै मासु सुकाएर खाइरहने गर्नाले शरीरलाई हानी गर्ने चिकित्सकहरु बताउँछन् ।

दीर्घरोग लागेका मानिसहरु जस्तै मुटुसम्बन्धी रोग, कोलस्टोर, मधुमेह, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरुले खानपानमा विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उनीहरुले मासु सकेसम्म नखाने । खानै परे पनि रातो मासु नखाने विज्ञहरुले सुझाव दिने गरेका छन् ।

मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलका अनुसार सामान्य अवस्थामा पनि खानपानमा ध्यान दिन जरुरी हुन्छ । त्यसैमाथि दशैं जस्ता चाडवर्पमा त झन् मासुका परिकार धेरै पाक्ने भएकाले धेरै सावधानी अपनाउनुपर्ने डा अनिलको सुझाव छ । विशेषगरी मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले दशैंमा स्वास्थ्यको ख्याल गर्ने हो भने मासुको परिकार, चिल्लो, नुन, मसला, पिरो जस्ता कुरामा धेरै नै नियन्त्रण गर्नुपर्ने डा अनिलको सुझाव छ ।

त्यस्तै युरिक एसिड भएकाहरुले रातो मासु, मदिरा तथा बढी प्रोटिनयुक्त खानु स्वास्थ्यकर मानिदैन । धेरै रातो मासु खानाले युरिक एसिडको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । त्यसो त मासुमा पनि खसीको मासु कुखुराको भन्दा धेरै चिल्लो हुने भएकाले यसमा धेरै सावधानी अपनाउनु्पर्ने विज्ञहरुको भनाइ छ ।

बरु माछाका परिकारहरु भने कतिपय रोग लागेका मानिसलाई पनि बेफाइदा नगर्ने चिकित्सकहरुले बताउने गरेका छन् । जस्तै माछा खानाले मुटु सम्बन्धी रोग लागेका मानिसलाई पनि हानी नगर्ने बताइन्छ । यसबाहेक तारेको खानाहरु कम गर्नुपर्ने उनीहरुको सुझाव छ । तारेका खानाहरु अत्यधिक खानाले रोगी मानिसहरुलाई त बेफाइदा गर्छ नै यस्तो खानाले शरीरमा नयाँ किसिमका रोग पनि निम्त्याउने विज्ञहरुको तर्क छ । अन्तत स्वादको नाममा शरीरलाई नपच्ने र शरीरलाई चाहिने भन्दा धेरै खानाले नयाँ रोगलाई पनि निम्ता दिइरहेको हुनसक्छ ।

यसैगरी बालबालिकाहरुलाई जंक फुडहरु दिने एउटा संस्कृति नै बनिसकेको छ । विशेषगरी चाडबाडमा अभिभावकहरु गफ गरिरहँदा बालबालिकाहरुले हल्ला गर्नेहुँदा फकाउनका लागि पनि जंक फुडहरु दिने चलन छ । तर यस्ता खानाले बालबालिकाको पेटमा मात्रै नभएर मस्तिस्कमा नै असर पार्ने विज्ञहरुको भनाइ छ ।


क्लिकमान्डु