दशैंमा घुम्न जाने सोचिरहनु भएको छ ? यी हुन् कोशी प्रदेशका पुग्नै पर्ने ठाउँ



विराटनगर । यसपालिको दशैंमा कहाँ कहाँ डुल्ने र रमाइलो गर्ने योजना बनाउनु भएको छ ? घुमघाम गर्नैका लागि कोशी प्रदेश रमणीयस्थल मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित ८ हजार ८ सय ४८ मिटर अल्गो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुन्द्री सतहवाट ७० मिटर उचाईमा रहेको नेपालकै होचो भूभाग कचनकवल पनि छ । सूर्योदय हेर्ने श्रीअन्तुडाँडा मात्र नभएर सूर्यास्त हेर्ने कोशीटप्पु पनि यही प्रदेशमा पर्छन् ।

कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलको रुपमा १० स्थान समावेश गरेको छ । सरकारको तथ्यांकअनुसार ३२ हजारले पर्यटन क्षेत्रमा रोजगारी पाएका छन् ।

पर्यटनमार्फत प्रदेशको कुल ग्राहस्थ उत्पादनमा दुई प्रतिशत योगदान भए पनि यस क्षेत्रले आकर्षक प्याकेज प्रस्तुत गर्न नसक्दा प्रगतीमा वृद्धि हुन नसकेको प्रदेश सरकार आफैंले स्वीकारेको छ ।

सगरमाथाको कारण ४३ प्रतिशत वाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्यांक छ । वाह्य पर्यटकको तथ्यांक हेर्दा औसतमा एक सातामा भारतीय पर्यटकहरू २ लाख १९ हजार आउने गरेका छन् । तेस्रो देशका पर्यटकको संख्या ४८ हजारमा सीमित हुने गरेको देखिन्छ । तर प्रतिव्यक्ति खर्चको हिसाबमा भने भारतीय पर्यटकको क्रयदर कमजोर रहेको छ । भारतीय पर्यटकले प्रतिदिन १९ अमेरिकी डलर खर्च गर्दा अन्य देशका पर्यटकहरू ५४ डलर खर्च गर्ने गरेको पाइन्छ ।

इलामको कन्याम धनकुटाको भेडेटार, ताप्लेजुङका पाथिभरा मन्दिर, हलेसी, बराह क्षेत्र लगायत आन्तरिक पर्यटनका चर्चित क्षेत्र हुन् । सगरमाथा, मकालु, कञ्चनजंघा, ल्होत्से र चोयु हिमालले कोशी प्रदेशको पर्यटकीय सम्भावनालाई थप मलजल थपेको छ । सगरमाथा, मकालु र कञ्चनजंघा बेस क्याम्पसम्मको ट्रेक साहसिक र रोचक मानिन्छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यवरणीय पर्यटनको बलियो सम्भावना भएका क्षेत्र हुन्। तामोर रिभर्र याफ्टिङ पूर्वको सबैभन्दा साहसिक र रोचक मानिन्छ ।

सगरमाथा बेस क्याम्प जानका लागि काठमाडौंबाट आधाघण्टाको हवाई यात्रापछि लुक्ला पुगिन्छ । लुक्लाबाट पैदल यात्रा गर्दै नाम्चेमा बास बस्ने र नाम्जेबाट ७ दिनको पैदल यात्रापछि सगरमाथा आधार शिविर पुग्न सकिन्छ । हिमाली बनस्पती, त्यहाँको स्थानीय जीवनशैली र रमणी दृश्यले त्यहाँ जो कोहीलाई लोभ्याउछ ।

कोशी प्रदेश पर्यटन विकास समितिका अध्यक्ष भविश श्रेष्ठका अनुसार नाम्चेबाट अर्को बाटो थामे, नाङपालासम्म यात्रा गरेर रेन्जोला पास कटेपछि अत्यन्तै सुन्दर हिमताल क्षेत्र पुगिन्छ । ५ हजार ३ सय ६० मिटरको उचाइमा रहेको गोक्यो पुगेपछि सगरमाथामा सूर्यास्तको दृश्य हेर्नेको घुइँचो लाग्ने गर्छ । ५ हजार २ सय मिटरको आधारशिविर धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । कतिपय पर्यटक भने ५ हजार ६ सय मिटरमा रहेको कालापत्थरसम्म पुग्ने गरेका छन् । यो नेपालको मात्र नभएर विश्वकै आकर्षक र ऐतिहासिक पर्यटकीय गन्तव्यको सूचीमा पर्छ ।

सोलुखुम्बुकै तेङबोचे गुम्बा अर्को महत्वपूर्ण क्षेत्र हो । सगरमाथा जाने बौद्ध धर्मावलम्बी मात्र नभएर सबै समुदायले समेत यो गुम्बामा आस्थाका साथ पूजापाठ गर्छन् । सन् १९१६ देखि सुरु भएको यो गुम्बा खुम्बु क्षेत्रको आस्थाको केन्द्र बनेको छ ।

सोलुखुम्बुकै पाँचपोखरी अर्को आकर्षक पर्यटकीय गन्तव्य हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले निकालेको नेपालका एकसय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा पाँचपोखरी परेको उल्लेख छ ।

श्रावण शुक्ल पूर्णीमाको दिन धार्मिक पर्यटकहरूको बढी रुचीमा पर्छ पाँचपोखरी । ४३ सय मिटरको उचाईमा रहेको पोखरी अत्यन्तै आकर्षक र मनोरम गन्तव्य मध्ये एक हो ।

ओखलढुङगाको पोकली झरनालाई प्रदेश सरकारले नेपालकै देस्रो अग्लो झरनाको रुपमा उल्लेख गरेको छ ।

लिखु खोलाको उत्तरपूर्वमा पर्ने पोकली झरना घना जंगल ९ गौरी वनको नजिक पर्छ । दम्बाडाँडा पनि अर्को आकर्षक गन्तव्य बन्दै गएको छ । स्थानीय पर्यटकको घुइँचो लाग्ने दम्बेडाँडालाई पनि सरकारले घुम्नुपर्ने सूचीमा राखेको छ । ३ हजार ३ सय मिटर उचाइको डाँडाबाट सगरमाथा लगायत हिमालको दृश्य प्रष्ट देख्न सकिन्छ । दम्मे डाँडाबाट १५० मिटरको दूरीमा रहेको पोखली झरना अर्को आकर्षणको केन्द्र भएको श्रेष्ठको स्मरण छ ।

ओखलढुङगासँगै छन् खोटाङका हलेसी महादेवको मन्दिर र बराहपोखरी । नेपालको प्रसिद्ध तिर्थस्थल मध्येपर्छ हलेसी महादेवको मन्दिर । सदरमुकाम दिक्तेलनजिकै रहेको मन्दिरमा बाह्रैमास धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्छ । मुख्य किराँत बौद्ध र हिन्दू धर्मावलम्बीको रोजाइमा पर्छ हलेसी । हलेसीसँगै बराहपोखरी पनि अर्को धार्मिक केन्द्र हो । बाह्रैमहिना समान अनुपातमा पानी रहने भएकाले दैवी शक्तिको प्रभावको रुपमा बराहपोखरी चिनिएको छ ।

खोटाङ, उदयपुर र ओखलढुङ्गाको पर्यटन सर्किट जोड्न सके धेरै प्रभावकारी हुने पर्यटन व्यवसायी पुण्य भट्टराईको बुझाइ छ । खोटाङबाट फर्किंदा उदयपुरगढीको अवलोकन झनै रोचक हुने उनको अनुभव छ । इतिहास अनुसार पृथ्वी नारायण शाहले पूर्वको बाइसे राज्य एकीकरण गर्दा चौदण्डीगढी कब्जा गरेका थिए । त्यसबखत तत्कालीन राजा कणसेनले उदयपुरगढीबाट राज्य चलाएका थिए । पछि २००७ सालको क्रान्तिमा कृष्णप्रसाद भट्टराई नेतृत्वको टोलीले उदयपुरगढी कब्जा गरेको थियो । बारम्बार पराजयको शिकार भएको उदयपुरगढी पुरानो जिल्ला सदरमुकाम समेत हो । हाल उदयपुरको सदरमुकाम गाईघाट हो ।

सुदूरपूर्वमा पर्ने ताप्लेजुङको पाथिभरा मेची करिडोरको सबैभन्दा चर्चित धार्मिक पर्यटकीय गन्तव्य हो । नेपालकै होचो स्थान कचनवकलदेखि कञ्चनजंघा हिमाल पनि यो करिडोमा पर्छ ।

मेची करिडोडरको सुरुवातमै झापाको चारआलीमा सानो अर्थात पाहु पाथीभराको मन्दिर छ । इलामको हर्कटेनजिकै अर्को तथा माहिलो पाथीभरा मन्दिर दर्शन गर्न सकिन्छ । इलामको कन्यामले जो कोही पर्यटकलाई लोभ्याउदै आएको छ । अझ त्यहाँ केही समय अगाडिदेखि सुरु भएको स्काई वाकले पर्यटकको ध्यान अझै खिचेको छ ।

चिसो मौसममा घोडसवारदेखि स्थानीय उत्पादनको स्वादले पर्यटकलाई लोभ्याएको छ कन्यामले । कन्याम पुगेपछि माइपोखरी जान रुचाउँछन पर्यटक । वनस्पती, वन्यजन्तु र धार्मिक हिसाबमा माइपोखरी चिनिएको छ । २ सय ३१ प्रजातीका वनस्पती पाइने यो स्थान जलचर र उभयचर जीवका लागि उपयुक्त मानिन्छ । माइपाखरी पुगेपछि सूर्योदय हेर्न नजाने प्राय कमै पर्यटक हुन्छन् ।

श्रीअन्तुबाट देखिने सूर्योदयको दृश्यले हरेक पर्यटकलाई दोस्रोपटक आमन्त्रण गर्छ । सूर्योदय दर्शनको लागि अघिल्लो दिन नै धेरै पर्यटक अन्तु पुग्छन् । अन्तुको आतिथ्यता सत्कार झनै लोभलाग्दो छ । इलामेलीको पर्यटकीय व्यवहारले सबैलाई आकर्षित गर्छ नै । इलामलाई त्यहाँको चिया बगानले समेत विश्वभर चिनाउँदै आएको छ । इलाम पर्यटकीय क्षेत्र वाहेक ५ ‘अ’ ले चिनिँदै आएको छ । अदुवा, अलैची, अम्लीसो, अकबरे र ओलन उत्पादन इलामको अर्को पहिचान हो ।

इलामको प्राकृतिक सौन्दर्यपछि ऐतिहासिक क्षेत्रलाई पनि स्मरण गराउँछ फाल्गुनन्द सर्किटल । पाँचथरमा रहेको फाल्गुनन्द पथलाई नसम्झिरहन सकिँदैन । राष्ट्रिय विभूति फाल्गुनन्दको सम्झनामा निर्माण गरिएको फाल्गुनन्द सर्किटले सामाजिक रुपमा लिम्बुवान र किँरातलाई जोडेको छ । समाज सुधारक फाल्गुनन्दको सम्झनामा इलामको चुचीनाम्बा, लारुम्बा हुँदै लुब्रेकुटी र सिलौटलाई जोडेर फाल्गुनन्द सर्किट तयार पारिएको छ ।

पर्यटन व्यवसायी भट्टराईका अनुसार थकाइ मेट्ने प्राकृतिक छटाले भरिपूर्ण स्थान हो ताप्लेजुङको फुङफुङे झरना । घना जंगलको बीचमा रहेको झरनाको दृश्य अत्यन्तै आनन्दायी छ । फुङफुङे आकर्षक झरनामात्र होइन ताप्लेजुङको पहिचान बनेको छ पाथिभर मन्दिर । ३ हजार ७ सय मिटरको उचाईमा रहेको पाथिभरा माताको मन्दिर प्राकृतिक र दैविक हिसाबले महत्वपूर्ण मानिएको छ ।

ताप्लेजुङले पाएर पनि गुमाएको पर्यटकीय क्षेत्र हो तिम्बुङ पोखरी । खासै प्रचार नभएको र बाटोमा खानेबस्ने व्यवस्था नभएको कारण पोखरी ओझेलमा परेको भट्टराईको गुनासो छ । ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको यो पोखरी कञ्चनजंघा हिमालको काखमा पर्छ ।

झापाको सदरमुकाम चन्द्रगढीवाट दक्षिणपूर्वमा नेपालकै सबैभन्दा होचो ठाउँ कचनावकल छ । दक्षिण र पूर्वमा भारतसँग सीमाना जोडिएको कचनाकवलको उचाई समुन्द्री सतहवाट ७० मिटर अर्थात २३० फिट छ । यहाँ मनसुनी हावापानी अर्थात अर्ध उष्ण र उष्ण हावापानी पाइन्छ । यहाँ गृष्म ऋतुमा ३६ डिग्री सेल्सीयस र शीतकालमा औसत न्यूनता तापक्रम १० डिग्री सम्म हुन्छ । वर्षा ऋतुमा हिन्द महासगरको बंगालको खाडीवाट आउने मनसुनी हावावाट मे देखि सेप्टेम्बर सम्म यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ ।

पछिल्लो समय धनकुटा, इलाम र पाँचथरसँग सिमाना जोडिएको मोरङको मिक्लाजुङ पालिकाको रमिते डाँडा पर्यटककालागि नयाँ केन्द्र बन्दै गएको छ । उर्लावारीवाट २० किलोमिटर उत्तरमा पर्ने यो डाँडाको उचाई २ हजार ४१० मिटर छ । यहाँ निर्माण गरिएको उल्टो घर र होम स्टेले सवैको ध्यान खिचेको छ । यो डाडावाट सूर्योदयको दृश्य प्रष्ट देखिन्छ भने यहाँवाट सुनसरी, मोरङ र झापाको तराई फाँट अवलोकन गर्न सकिन्छ ।

सनुसरीको कोशीटप्पुसँगै रहेको बराह मन्दिरले धार्मिक आस्थालाई थप उजागर गरेको छ । चतरा धामसँगै बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिरले सुनसरीको धार्मिक पर्यटनको बिडो थामेको छ । पछिल्लो समय मोरङ पुरानो सदरमुकाम रंगेलीको सनसारीमाई स्थानमा पनि धार्मिक पर्यटकको भीड बढदो छ । यो विराटनगरवाट २२ किलोमिटर पूर्वपर्छ । यस वाहेक धनकुटाको छिन्ताङ देवीलाई छ्यापछ्याप्तीकी देवी मानिन्छ । यो मन्दीरमा वाह्रै महिना वली चढाइन्छ र दशैंमा विशेष भीडभाड हुन्छ ।


विनोद भण्डारी