दोस्रो दिन पनि बालेनबिरुद्ध न्युरोडका व्यवसायी आन्दोलित, फिर्ता नगरे आन्दोलन चर्काउने चेतावनी



काठमाडौं । न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ निषेध गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् ।

महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो ।

उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् । व्यवसायीहरु सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन सुरु गरेका छन् ।

महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए ।

पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने उनले बताए ।

कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउनु भएको आरोप लगाए ।

न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आउने उनको तर्क छ ।

महानगरले एकोहोरो निर्णय लाद्ने काम गरेको र त्यो गलत भएको उनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनावश्यक रुपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको भन्दै उनले विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने दाबी गरे ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए ।

व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको उनले बताए ।

महानगरले सवारी साधन आउने संख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनको भनाइ छ ।

व्यवसायीहरुले सडक आन्दोलनमा वैकल्पिक पार्किङको व्यवस्था गर्,महानगरको एकोहोरो निर्णय खारेज गर्, बालेन तेरो पाराले, दुःख पाए साराले,व्यापारीलाई गरिखान दे,महानगरको पाराले दुःख पाए साराले,एकल निर्णय खारेज गर,स्टन्टबाजी बन्द गर्,व्यवसायीहरु एक हौं लगायतका नारा लगाएका थिए ।


क्लिकमान्डु