
एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले सभ्यताहरूबीचको संवादको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार विशेष भिडियो सन्देश जारी गर्दै विश्वभरका विभिन्न सभ्यताहरूबीच आपसी सम्मान, समानता र सहअस्तित्व हुनुपर्नेमा जोड दिएका छन् ।
उक्त सम्बोधनमा उनले वर्तमान विश्वमा बढ्दै गएको विभाजन र भूराजनीतिक टकरावलाई न्यून गर्न सभ्यताहरूबीचको संवाद नै एकमात्र विकल्प भएको बताए ।
आफ्नो सम्बोधनको सुरुमै विदेशमन्त्री वाङले विश्वभरका मित्रहरूलाई यस वार्षिक दिवसको शुभकामना दिँदै सभ्यताको विविधतालाई विश्वको मौलिक र परिभाषित विशेषताका रूपमा व्याख्या गरे । उनले तीन वर्षअघि चीनका राष्ट्रपति सी चिनपिङले अघि सारेको ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ वा विश्वव्यापी सभ्यता पहलको स्मरण गर्दै यसले विभिन्न सभ्यताहरूलाई सद्भावपूर्ण रूपमा सँगै बस्न मार्गनिर्देशन गरेको बताए ।
वाङ यीले वर्तमान समयमा मानव सभ्यताले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरे । उनले भने, ‘आजको विश्वमा विभाजन र टकराव बढ्दै गएको छ, अन्तर्राष्ट्रिय कानुनी शासन कमजोर हुँदैछ र विश्वासको संकट गहिरिँदै गएको छ ।’
यस्तो परिस्थितिमा बढीभन्दा बढी संवाद मार्फत आपसी समझदारी बढाउनु र विश्वासको वातावरण सिर्जना गर्नु अपरिहार्य रहेको उनको तर्क थियो ।
उनले संवादलाई एक्यबद्धता र सहमतिको आधारस्तम्भका रूपमा प्रस्तुत गर्दै मानवताको साझा भविष्यका लागि एक मजबुत मानवीय जग निर्माण गर्नुपर्नेमा जोड दिए ।
चिनियाँ विदेशमन्त्रीले कुनै पनि सभ्यता अर्कोभन्दा उच्च वा नीच नहुने स्पष्ट पारे । उनले भने, ‘सभ्यताहरूमा कुनै उच्च वा निम्न स्तर हुँदैन । सबै सभ्यताहरू आफैंमा मूल्यवान् छन् र तिनीहरूलाई समान सम्मानका साथ व्यवहार गरिनुपर्छ ।’
उनले केही शक्ति राष्ट्रहरूमा देखिने सभ्यताको श्रेष्ठताको संकीर्ण सोच र सभ्यताहरूको टकराव जस्ता सिद्धान्तहरूलाई त्याग्नुपर्ने आह्वान गरे ।
उनका अनुसार, सभ्यताका वास्तविक शत्रुहरू एक–अर्का नभएर श्रेष्ठताको अहंकार, दमनकारी नीति र अरूलाई होच्याउने प्रवृत्ति हुन् । चिनियाँ दृष्टिकोण अनुसार समानता, आपसी सिकाइ र समावेशिता नै आधुनिक सभ्यताको मेरुदण्ड हुनुपर्छ ।
विदेशमन्त्री वाङले जनता नै इतिहासको निर्माता भएको बताउँदै सभ्यताहरूबीचको संवादमा पनि जनतालाई नै मुख्य पात्रका रूपमा राख्नुपर्ने बताए । उनले विभिन्न देशका जनताबीचको आपसी सद्भाव र समझदारीले मात्रै संवादको प्रतिफललाई व्यापक र प्रत्यक्ष रूपमा सर्वसाधारणसम्म पुर्याउन सक्ने उल्लेख गरे ।
चीनले उच्चस्तरीय खुलापनको नीतिलाई अंगीकार गरेको स्मरण गराउँदै वाङले अन्तर्राष्ट्रिय पर्यटक र आगन्तुकहरूका लागि चीनले पछिल्लो समय लागू गरेको भिसारहित नीति र अन्य सहजीकरणका उपायहरूले सभ्यताहरूबीचको वास्तविक आदानप्रदानलाई प्रोत्साहन गरेको दाबी गरे ।
चीनले संयुक्त राष्ट्रसंघ, युनेस्को र प्राचीन सभ्यताहरूको मञ्च जस्ता अन्तर्राष्ट्रिय निकायहरूसँग मिलेर काम गरिरहेको र भविष्यमा पनि यस्ता निकायहरूलाई आर्थिक सहयोग र साझेदारी जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘चीन शासन प्रणालीका अनुभवहरू साझा गर्न, साझा चुनौतीहरूको सामना गर्न र आधुनिकताको खोजीमा नयाँ मार्गहरू कोर्न विश्वका सबै देशहरूसँग सहकार्य गर्न तयार छ ।’
आफ्नो सम्बोधनमा उनले कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जाल जस्ता नयाँ प्रविधिहरूले विभिन्न देश, भाषा र सभ्यताहरूबीचको दूरी मेटाउन नयाँ अवसरहरू सिर्जना गरेको उल्लेख गरे । यी प्रविधिहरूको उचित प्रयोग गरेर सभ्यताको विरासतलाई जोगाउन र नवप्रवर्तन मार्फत यसलाई नयाँ युग सुहाउँदो बनाउनुपर्नेमा उनले जोड दिए ।
पाँच हजार वर्ष लामो इतिहास बोकेको चिनियाँ सभ्यताको निरन्तरता, सिर्जनशीलता, एकता, समावेशिता र शान्तिप्रियताको चर्चा गर्दै वाङ यीले चिनियाँ सभ्यता सधैं शान्तिको पक्षधर रहेको बताए । उनले सभ्यतालाई पानीसँग तुलना गर्दै यसले मौन रूपमा सबैलाई पोषण गर्ने र संवादलाई पुलसँग तुलना गर्दै यसले विश्वलाई जोड्ने सुन्दर बिम्ब प्रस्तुत गरे ।
उनले संवाद र आपसी सिकाइका माध्यमबाट प्रगति हासिल गर्दै सम्पूर्ण मानव जातिको उज्ज्वल भविष्यका लागि सबै सभ्यताहरू मिलेर अघि बढ्नुपर्ने आह्वानका साथ आफ्नो सम्बोधन टुंग्याए ।
चीनले अघि सारेको यो सभ्यता संवादको खाकाले विश्व राजनीतिमा चलिरहेको शीतयुद्धकालीन मानसिकता र सैन्य टकरावलाई रचनात्मक बहस र सांस्कृतिक सहकार्यमा बदल्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया