आर्थिक कूटनीति प्रवर्धनका लागि रणनीति निर्माण र कार्यान्वयनबारे परराष्ट्र मन्त्रालयमा अन्तरक्रिया

42
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालय र इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) को संयुक्त आयोजनामा मंगलबार आर्थिक कूटनीति प्रवर्धनका लागि ‘कन्ट्री स्ट्राटेजी’ (देशगत रणनीति) निर्माण र कार्यान्वयनसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मन्त्रालयमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउन देशगत विशेषता र प्राथमिकताका आधारमा विशेष योजना तथा कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकतामा जोड दिएको मन्त्रालयले जनाएको छ । उनले नेपालको आर्थिक हित रक्षाका लागि प्रत्येक राष्ट्रसँगको सम्बन्धलाई विशिष्ट रणनीति मार्फत अघि बढाउनुपर्ने बताए ।

त्यसैगरी परराष्ट्र सचिव अमृत बहादुर राईले आर्थिक कूटनीतिमा रणनीतिक र नतिजामुखी दृष्टिकोण अपनाउनुपर्ने कुरामा जोड दिए । कूटनीतिक नियोगहरूले ठोस उपलब्धि हासिल गर्ने गरी आफ्ना गतिविधिहरू केन्द्रित गर्नुपर्ने उनले धारणा राखे ।

कार्यक्रममा आईआईडीएसका डा. विश्वास गौचन र अखिलेश उपाध्यायले आर्थिक कूटनीतिका विविध पक्षहरू र देशगत रणनीति कार्यान्वयनका चुनौती तथा अवसरहरूका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले नेपालको वैदेशिक लगानी, पर्यटन प्रवर्धन र वैदेशिक व्यापार विस्तारमा आर्थिक कूटनीतिको भूमिकाका बारेमा छलफल गरेका थिए ।

Skip This