महँगीदर १६ महिनाकै उच्च, मुद्रास्फीति ५% नाघ्यो

112
Shares

काठमाडौं । मुद्रास्फीति बढेर ५ प्रतिशत नाघेको छ । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को वैशाख सोही महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत मात्र थियो।

गत वर्षको तुलनामा वर्ष महँगी दरमा उल्लेख्य वृद्धि देखिएको हो । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको वैशाखमा खाद्य तथा पेय पदार्थ समूहहरूको मुद्रास्फीति १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत मात्र थियो ।

मुद्रास्फीति दर १६ महिनापछि ५ प्रतिशत नाघेको हो । यसअघि २०८१ पुसमा मुद्रास्फीति दर ५.४१ प्रतिशत रहेकामा त्यसयता निरन्तर घटेर १.११ प्रतिशतसम्म झरेको थियो । गत फेब्रुअरीबाट मध्यपूर्व तनाव सुरू भएपछि त्यसको असर महँगीमा पर्दै आएको छ ।

फलफूल र तेलमा चर्को महँगी

खाद्य समूहअन्तर्गत सबैभन्दा बढी मूल्यवृद्धि फलफूलमा देखिएको छ । फलफूल उप–समूहको मूल्य सुचकांक १८.६० प्रतिशतले बढेको छ । त्यसैगरी, घ्यू तथा तेलको मूल्य सुचकांक १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछा तथा मासुको मूल्य सुचकांक ४.१६ प्रतिशतले बढेको छ । तर, दाल तथा गेडागुडीको मूल्य सुचकांक १.६७ प्रतिशत र मरमसलाको मूल्य सुचकांक ०.६५ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्यमा १९.९० प्रतिशतको उच्च वृद्धि भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण यातायात समूहको मूल्य सुचकांक १५.३० प्रतिशतले बढेको छ । त्यस्तै शिक्षाको मूल्य सुचकांक ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको मूल्य सुचकांक ४.७३ प्रतिशतले बढेको छ ।

सहरमा महँगी बढी, कोशी प्रदेश अग्रस्थानमा

क्षेत्रगत आधारमा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी देखिएको छ । सहरी क्षेत्रको मुद्रास्फीति ५.२९ प्रतिशत रहँदा ग्रामीण क्षेत्रको ४.३५ प्रतिशत रहेको छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.६४ प्रतिशत मुद्रास्फीति रहेको छ ।

कुन प्रदेशको महँगी कति ?
मधेश प्रदेशः ५.४७ प्रतिशत
लुम्बिनी प्रदेशः ५.३१ प्रतिशत
कर्णाली प्रदेशः ४.८८ प्रतिशत
गण्डकी प्रदेशः ४.८६ प्रतिशत
सुदूरपश्चिम प्रदेशः ४.६५ प्रतिशत
बागमती प्रदेशः ४.५५ प्रतिशत

भौगोलिक आधारमा तराई क्षेत्रमा सबैभन्दा बढी ५.५९ प्रतिशत महँगी बढेको छ । काठमाडौं उपत्यकामा ४.९० प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ३.७३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

चालू आर्थिक वर्षको १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.३९ प्रतिशत थियो ।

उपभोक्ता मुद्रास्फीति मात्रै नभएर वार्षिक विन्दुगत थोक मुद्रास्फीतिमा वृद्धि देखिएको छ । वैशाख महिनामा थोक मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको वैशाखको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.९५ प्रतिशत मात्र रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष थोक मूल्य वृद्धिदर २.०१ प्रतिशत विन्दुले बढेको हो ।

वैशाखमा वस्तुहरूको प्रकृति अनुसार मूल्य वृद्धिदरमा निकै भिन्नता देखिएको छ । उपभोग्य वस्तुको थोक मूल्य घट्दा मध्यवर्ती वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको हो । उपभोग्य वस्तुको थोक मुद्रास्फीति ८.६३ प्रतिशतले ऋणात्मक रहेको छ । यसले उपभोग्य वस्तुको थोक मूल्यमा गिरावट आएको छ ।

मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति भने उच्च दरले बढेको छ । वैशाखमा मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १५.५९ प्रतिशत रहेको छ । पुँजीगत वस्तुको थोक मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । यस्तै, विकास निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको थोक मूल्य सूचकांक २.४७ प्रतिशतले बढेको छ ।

उपभोक्ता मुद्रास्फीतिः नेपाल र भारतको अवस्था

उपभोक्ता स्तरको महँगीलाई हेर्दा २०८३ वैशाख महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा महँगीको दर उच्च देखिएको छ ।

सन् २०२६ अप्रिल (नेपाली महिना वैशाख आसपास) मा भारतको उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत मात्र रहेको छ । यसले भारतीय बजारको तुलनामा नेपाली उपभोक्ताहरूले बढी महँगीको सामना गरिरहेको पुष्टि गर्दछ ।

Skip This