१४ वटा मुद्दाका फरार प्रतिवादी राजु मिजार धुम्बाराहीबाट पक्राउ

112
Shares

काठमाडौं । बैंकिङ कसूर र चेक अनादरका गरी कुल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५ स्थायी घर भएका ४७ वर्षीय राजु मिजार रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले मिजारलाई जेठ २५ गते काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट पक्राउ गरेको हो ।

मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतमा देवीचन्द्र जोसीलगायतको जाहेरीले बैंकिङ कसूरका १२ वटा र चेक अनादरका २ वटा गरी जम्मा १४ वटा मुद्दा दायर भएका थिए । ती मुद्दाहरूमा अदालतले विभिन्न मितिमा फैसला सुनाउँदै उनलाई सजाय र जरिवानाको फैसला गरेको थियो ।

अदालतको फैसलाअनुसार मिजारले २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५३४ रुपैयाँ जरिवाना र १ लाख ७२ हजार ९४१ रुपैयाँ क्षतिपूर्ति रकम तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ । साथै, उनलाई ९० दिन कैद सजाय समेत तोकिएको थियो ।

लामो समयदेखि फरार रहेका मिजारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आइतबार (जेठ २६ गते) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

Skip This