
विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रभित्र केही दिनयता दैनिक रूपमा पटक-पटक भइरहेको विद्युत् ट्रिपिङ र फ्लक्चुएसनका कारण उद्योग, व्यवसाय तथा सर्वसाधारण नागरिक गम्भीर समस्यामा परेको भन्दै उद्योग संगठन मोरङले विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
समस्याको जानकारी गराउँदै उद्योग संगठन मोरङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक तथा नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई पत्राचार गरेको छ । केही दिनयता बारम्बार भइरहेको विद्युत् ट्रिपिङ र फ्लक्चुएसनको समस्या तत्काल समाधान गर्न, आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन समाधान गर्न आग्रह गरिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए ।
औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटकभन्दा बढी भइरहेको विद्युत् ट्रिपिङले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुर्याएको छ । बारम्बारको विद्युत् अवरोधका कारण उद्योगका मिल तथा मेसिनरीमा क्षति पुग्ने, उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुने, उत्पादन कार्य प्रभावित भई श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना हुँदा उद्योगहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको राठीको भनाइ छ ।
वर्तमान समयमा इन्धनको मूल्यवृद्धिका कारण जेनेरेटर सञ्चालन गरेर उत्पादन गर्नुपर्दा उत्पादन लागत उल्लेख्य रूपमा बढ्ने र त्यसले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै विद्युत् ट्रिपिङ र फ्लक्चुएसन समस्याको समाधान नभए औद्योगिक क्षेत्रले ठूलो क्षति भोग्नु पर्ने अवस्था रहेको राठीको गुनासो छ ।
बारम्बारको ट्रिपिङ तथा फ्लक्चुएसनले विद्युतीय उपकरणहरूको प्रयोगमा समस्या उत्पन्न भएको, विद्यार्थी, कार्यालय तथा घरायसी कामकाज समेत प्रभावित भएकाले उद्योग, व्यवसाय तथा आमनागरिकको हितलाई मध्यनजर गर्दै समस्याको गम्भीरता बुझी ट्रिपिङ तथा फ्लक्चुएसनको समस्या शीघ्र समाधान गर्न संगठनले विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।











प्रतिक्रिया