
काठमाडौं । नेपालका विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित सयौं उद्योगहरूले वर्षौंदेखि जग्गा, भवन, विद्युत् र पानी प्रयोग गरेबापतको महसुल नतिरेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सात दिनभित्र बक्यौंता रकम तिर्न सूचना जारी गरेको छ ।
बालाजुस्थित लिमिटेडको केन्द्रीय कार्यालयले २०८३ जेठ २५ गते सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन ७ दिने अन्तिम म्याद दिएको छ ।
बक्यौंता रकम नतिर्नेमा निजी क्षेत्रका उद्योगदेखि सरकारी स्वामित्वको आयोजनादेखि कार्यालयसम्म रहेका छन् । कतिसम्म भने सरकारी स्वामित्वको सञ्चार गृहसम्मले वर्षौदेखि सरकारलाई जग्गा, भवन, बिधुत र पानीलगायतको सेवा प्रयोग गरेवापत नियमित रुपमा बुझाउनु पर्ने महसुल नबुझाइएको पाइएको छ ।
महसुल बुझाउन ताकेदा गर्दासमेत अटेर गरी बहाल महसुल नबुझाउँदा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण तथा मर्मत गर्न र उद्योगलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन कठिनाई भएको जनाएको छ ।
बक्यौता नतिर्ने उद्योगहरूको सूचीमा मुलुकका प्रतिष्ठित व्यावसायिक घरानादेखि साना उद्योगसम्म ४०० भन्दा बढी फर्महरू रहेका छन् ।
तोकिएको समयभित्र रकम भुक्तानी नगरे औद्योगिक क्षेत्रले उपलब्ध गराउँदै आएका सेवा सुविधाहरू (जग्गा, भवन, विद्युत्, पानी) कटौती गर्ने र सम्झौता खारेज गरी कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी लिमिटेडले दिएको छ ।
सूचनामा उल्लेख भएअनुसार यो बक्यौता रकम २०८३ वैशाख मसान्तसम्मको कुल हिसाब हो । कतिपय उद्योगहरूले विगत धेरै वर्षदेखि नियमित रूपमा जग्गा र भवनको बहाल तथा विद्युत् र पानीको महसुल नबुझाएको लिमिटेडले जनाएको छ ।
पटक–पटक ताकेता गर्दा पनि उद्योगीहरूले अटेर गरेपछि सार्वजनिक रूपमा नामै किटान गरेर सूचना जारी गर्नुपरेको लिमिटेडको दाबी छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको यो पछिल्लो कदमले औद्योगिक क्षेत्रभित्रको आर्थिक अनुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । अर्बौँको बक्यौता उठ्न नसक्दा औद्योगिक क्षेत्रको विकास र पूर्वाधार निर्माणमा अवरोध पुगेको छ ।
अबको एक हप्ताभित्र कति उद्योगले रकम चुक्ता गर्छन् र कतिमाथि कारबाही हुन्छ, त्यो भने हेर्न बाँकी छ । यति ठुलो संख्यामा उद्योगहरू डिफल्टर हुनुले नेपालको औद्योगिक वातावरण र कानुनी परिपालनाको अवस्थामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।

कति छ कुल बक्यौता र कति छन् उद्योगहरू ?
प्राप्त विवरण अनुसार नेपालका प्रमुख ९ वटा औद्योगिक क्षेत्रहरूमा रहेका उद्योगहरूले ठुलो परिमाणमा रकम तिर्न बाँकी छ ।
तथ्याङ्कलाई केलाउँदा बक्यौता रकम अर्बौंको हाराहारीमा पुगेको छ । सूचना अनुसार पाटन औद्योगिक क्षेत्रमा रहेका ९४ वटा उद्योग र फर्महरूले बक्यौता तिर्न बाँकी छ । यस क्षेत्रको कुल बक्यौता १० करोड ९० लाख ४८ हजार १७७ रुपैयाँभन्दा बढी रहेको छ ।
यसैगरी बालाजु औद्योगिक क्षेत्रमा रहेको १५१ वटा उद्योगको सबैभन्दा बढी बक्यौंता रकम असुल गर्न बाँकी छ । जसअनुसार १५१ उद्योगबाट ४३ करोड ९८ लाख ६७ हजार ५५५ रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी देखिएको छ ।
त्यसैगरी हेटौँडा औद्योगिक क्षेत्रमा रहेको १३१ वटा उद्योगबाट २० करोड ९० लाख ३१ हजार ७ सय ३ रुपैयाँ बक्यौंता रकम असुल गर्न बाँकी छ ।
प्रतिवेदनअनुसार औद्योगिक क्षेत्र उल्लेख नभएको एक क्षेत्रमा रहेको ३६ उद्योगबाट ७१ लाख ३१ हजार ६ सय ३९ रुपैयाँ बक्यौता रकम असुल्न बाँकी छ ।
पोखरा औद्योगिक क्षेत्रमा रहेका ७१ वटा उद्योगहरूले ४ करोड ४१ लाख रुपैयाँभन्दा बढी बक्यौता राखेका छन् ।
यसैगरी बुटवल औद्योगिक क्षेत्रमा रहेका ५८ वटा उद्योगहरूको ४ करोड ५७ लाख ८५ हजार रुपैयाँभन्दा बढी तिर्न बाँकी छ ।
उता नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेका १६ उद्योगले १ करोड ३४ लाख २५ हजार बिरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगबाट ६ लाख ६२ हजार, भक्तपुर औद्योगिक क्षेत्रमा रहेका १७ उद्योगबाट १ करोड ७१ लाख ६८ हजार, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र राजविराजभित्र रहेका २० उद्योगबाट ६३ लाख ३२ हजार रुपैयाँ बक्यौंता रकम असुल गर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
विभिन्न औद्योगिक क्षेत्रमा रहेर उद्योग सञ्चालन भएकामध्ये अत्यधिक बक्यौता रकम बाँकी रहेको उद्योगहरुमा पाटन औद्योगिक क्षेत्रभित्र रहेका एग्रो थाई फुड्स प्राइभेट लिमिटेडले ९ करोड ८४ लाख ३१ हजार, बुटवल औद्योगिक क्षेत्रको बुटवल धागो कारखानाले ३ करोड ९२ हजार ७० हजार, हेटौडा औद्योगिक क्षेत्रको पशुपति पेलेट फिड प्राइभेट लिमिटेडले ३ करोड ७५ लाख, सोहि औद्योगिक क्षेत्रको गोर्खा लाहारी प्राइभेट लिमिटेडले ३ करोड २० लाख, भक्तपुर औद्योगिक क्षेत्रको कृति टेक्टसाईल्सले २ करोड ८६ लाख, पाटन औद्योगिक क्षेत्रमा रहेको आन्तरिक राजस्व कार्यालयले १ करोड ६९ लाख, सोहि औद्योगिक क्षेत्रको शान्ति फुड्स प्राइभेट लिमिटेडले १ करोड ४६ लाख, बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल चलचित्र विकास कम्पनीले १ करोड ४० लाख र नेपाल ग्यास उद्योगले १ करोड ३१ लाख तथा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा रहेको कृष्ण खाद्य उद्योगले १ करोड २२ लाख बक्यौता रकम तिर्न बाँकी छ ।
यसैगरी पोखरा औद्योगिक क्षेत्रभित्रको मदन ल्याण्ड एग्रीकल्चरले १ करोड २१ लाख, बालाजु औद्योगिक क्षेत्रको भ्याली कोल्ड स्टोरले ८६ लाख ४४ हजार, पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन नेपालले ८८ लाख २८ हजार, बालाजु औद्योगिक क्षेत्रको पुजा इन्टरनेशनलले ७७ लाख ८१ हजार, पाटन औद्योगिक क्षेत्रको अशोक एनटीई सर्भिसेजले ७० लाख १३ हजार, पोखरा औद्योगिक क्षेत्रको सञ्जिवनी अक्सिजन ग्यासले ७० लाख र ब्राइट फिड प्राइभेटले २४ लाख ८७ हजार वक्यौता रकम तिर्न बाँकी छ ।
यी हुन् बक्यौता रकम बुझाउन अटेर गर्ने उद्योगहरू











प्रतिक्रिया