मालिका स्टीलले एकै वर्ष गर्यो सवा १ अर्ब रुपैयाँको कारोबार

84
Shares

काठमाडौं । मालिका स्टीलले एकै वर्ष करिब सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ९४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार गत आवमा २६.३३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीअनुसार गत आवमा उच्च परिमाणमा सामग्री बिक्री हुँदा कारोबार बढेको उल्लेख छ । त्यस्तै, कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ७५ करोड १० लाख रुपैयाँको कारोबार गरिसकेको छ ।

कम्पनीले सन् २०२५ मा ११.०४ प्रतिशत नाफा मार्जिन कायम गरेको छ । सन् २०२४ मा कम्पनीको नाफा मार्जिन ३.५३ प्रतिशत थियो ।

कम्पनीले उत्पादन क्षमता बढाउन, बिजुलीको लागत घटाउन नयाँ मेसिनरी र सोलर प्यानेल जडान गरेको छ । उक्त जडानसँगै सञ्चालन खर्च र नाफामा सुधार आउने जनाएको छ ।

कम्पनीले गत आवमा ५ करोड ६० लाख रुपैयाँ कुल नगद सञ्चय संकलन गरेको छ । सन् २०२४ मा ३ करोड ६० लाख रुपैयाँ कुल नगद सञ्चय थियो । सन् २०२१ मा स्थापना भएको कम्पनीले स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

कैलाली टिकापुरमा रहेको उद्योगले वार्षिक २६ हजार ८ सय १२ मेट्रिक टन क्षमतामा स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ देखि पूर्ण क्षमतामा व्यवसायिक कारोबार सुरू गरेको थियो । कम्पनीले स्टीलजन्य सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २१ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ करोड ६५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९४ करोड ११ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीको अध्यक्ष टिकाराम जैशी छन् ।

Skip This