काठमाडौंको ट्राफिक व्यवस्थापनः एयरपोर्टको बीचैबाट सुरुङसहितका २ उपाय

420
Shares

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको यातायात समस्या वर्षौंदेखि नागरिकको प्रमुख चिन्ताको विषय रहँदै आएको छ । विशेषगरी कोटेश्वर, जडीबुटी, गौशाला, चाबहिल, सिनामंगल, पेप्सिकोला लगायतका क्षेत्र दैनिक सवारी चापका कारण अत्यधिक प्रभावित हुँदै आएका छन् ।

अहिले चक्रपथको सबैभन्दा जाम हुने क्षेत्र मध्ये कोटेश्वर–जडीबुटी सडकको सुधार योजनाको काम अगाडि बढिरहेको छ । ‘कोटेश्वर–जडीबुटी सडक सुधार योजना’ ले काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ट्राफिक जामको सास्ती हटाउन महत्त्वपूर्ण सहयोग खेल्ने छ ।

उपत्यकाको दीर्घकालीन यातायात व्यवस्थापनका लागि थप केही रणनीतिक पूर्वाधार परियोजनामाथि पनि गम्भीर छलफल आवश्यक देखिन्छ ।

कोटेश्वर–जडीबुटी सडक विस्तार र सुधारले उपत्यकाको सबैभन्दा जटिल ट्राफिक समस्यामध्ये एकलाई समाधान गर्ने अपेक्षा गरिएको छ । तर, केवल एउटा सडक विस्तारले मात्र काठमाडौंको बढ्दो सवारी चापलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न पर्याप्त नहुन सक्छ । यदि सरकारले समयमै बजेट व्यवस्थापन गरी दुईवटा साना तर अत्यन्त प्रभावकारी परियोजनालाई प्राथमिकतामा राख्ने हो भने उपत्यकाको यातायात प्रणालीमा उल्लेखनीय सुधार आउन सक्छ ।

काठमाडौं उपत्यकाको यातायात समस्या समाधानका लागि सडक विस्तार मात्र पर्याप्त समाधान होइन । नयाँ वैकल्पिक मार्ग, भूमिगत सडक तथा वैज्ञानिक पूर्वाधार विकासको अवधारणालाई पनि समान रूपमा प्राथमिकता दिन आवश्यक छ ।

कोटेश्वर–जडीबुटी सडक सुधार योजना सही दिशामा अघि बढिरहेको अवस्थामा सिनामंगल–पेप्सिकोला भूमिगत सडक र तिलगंगा–गुह्येश्वरी कंक्रिट टनेलजस्ता रणनीतिक परियोजनामाथि गम्भीर अध्ययन सुरु गर्न सके उपत्यकाको यातायात प्रणालीमा दीर्घकालीन सुधार सम्भव छ । सीमित लगानीबाट ठूलो परिणाम दिन सक्ने यस्ता परियोजनाले काठमाडौं, भक्तपुर, काभ्रे तथा पूर्वी उपत्यकाका लाखौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउन सक्छन् ।

अब आवश्यक कुरा भनेको यस्ता सम्भावनाहरूलाई प्राविधिक अध्ययन, वातावरणीय मूल्यांकन र दीर्घकालीन शहरी योजना भित्र समेटेर व्यवहारिक कार्यान्वयनतर्फ अघि बढाउनु हो ।

सिनामंगल–पेप्सिकोला भूमिगत सडकः विमानस्थलमुनिको वैकल्पिक मार्ग

पहिलो प्रस्तावित आयोजना हो—सिनामंगल (केएमसी अस्पताल आसपासको क्षेत्र) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुनि हुँदै पेप्सिकोला निस्कने भूमिगत सडक अर्थात् टनेल ।

यस टनेलको निर्माणले काठमाडौं उपत्यकामा नयाँ र समानान्तर वैकल्पिक यातायात मार्ग सिर्जना गर्नेछ । बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, सिनामंगल हुँदै पेप्सिकोला, भक्तपुर, सागा र बनेपासम्म पुग्ने सवारीसाधनले हाल प्रयोग गरिरहेको भीडभाडयुक्त मार्गको विकल्प प्राप्त गर्नेछन् ।

यस योजनाको सबैभन्दा सकारात्मक पक्ष भनेको टनेलको प्रारम्भिक बिन्दु सिनामंगलतर्फ विद्यमान सडक संरचनाबाटै सञ्चालन गर्न सकिने अवस्था हुनु हो । यसले नयाँ जग्गा अधिग्रहणको आवश्यकता न्यून बनाउनेछ। त्यस्तै, पेप्सिकोलातर्फ रहेको ढल तथा पानी निकास क्षेत्रमाथि सडक निर्माण गर्न सकिने भएकाले निजी जग्गा अधिग्रहण र मुआब्जा वितरणको जटिलता पनि कम हुनेछ ।

विश्वका धेरै अन्तर्राष्ट्रिय विमानस्थलमुनि यस्ता भूमिगत सडकहरू सफलतापूर्वक सञ्चालनमा रहेको उदाहरणलाई हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनि टनेल निर्माण गर्नु प्राविधिक रूपमा असम्भव विषय होइन । उचित अध्ययन, डिजाइन र सुरक्षामापदण्ड अपनाउन सके यो आयोजना काठमाडौंको यातायात इतिहासकै महत्वपूर्ण पूर्वाधार बन्न सक्छ ।

तिलगंगा–गुह्येश्वरी सडकः सम्पदा संरक्षणसँगै यातायात समाधान

दोस्रो महत्वपूर्ण प्रस्ताव तिलगंगा–गुह्येश्वरी सडकलाई आधुनिक प्रविधिबाट पुनः सञ्चालनमा ल्याउने विषयसँग सम्बन्धित छ ।

केही वर्षअघि यो सडक कच्ची मार्गका रूपमा सञ्चालनमा आएको थियो । तर उक्त क्षेत्र विश्व सम्पदा सूची अन्तर्गत पर्ने भएकाले युनेस्कोले आपत्ति जनाएपछि सडक बन्द गर्नुपरेको थियो । त्यसयता यो खण्ड प्रयोगविहीन र जीर्ण अवस्थामा रहेको छ ।

यस समस्याको समाधानका लागि ‘कट एन्ड कभर’ प्रविधिमा आधारित कंक्रिट टनेल निर्माण गर्न सकिने सम्भावना देखिन्छ । यस विधिअन्तर्गत जमिन खनेर भूमिगत संरचना निर्माण गरिन्छ र त्यसपछि पुनः माटो भरेर माथिल्लो भागलाई पहिलेकै प्राकृतिक स्वरूपमा फर्काइन्छ ।

यदि बनकाली क्षेत्रको जङ्गलमुनि यस्तो संरचना निर्माण गरियो भने माथिबाट हेर्दा जङ्गलको स्वरूप जस्ताको तस्तै रहनेछ । यसले विश्व सम्पदा क्षेत्रको संरक्षण पनि सुनिश्चित गर्नेछ भने सडक सञ्चालनको आवश्यकता पनि पूरा हुनेछ ।

यस प्रविधिको अर्को फाइदा लागत अपेक्षाकृत कम हुनु हो। साथै वातावरणीय प्रभाव न्यून हुने भएकाले युनेस्कोबाट स्वीकृति प्राप्त गर्ने सम्भावना पनि बढ्न सक्छ ।

यो सडक सञ्चालनमा आएपछि गौशाला, मित्रपार्क र चाबहिल क्षेत्रमा पर्ने अत्यधिक सवारी चाप उल्लेखनीय रूपमा घट्ने अपेक्षा गर्न सकिन्छ । त्यसको प्रत्यक्ष लाभ सुन्दरीजल, दक्षिणढोका, गोकर्णेश्वर, जोरपाटी, साँखु लगायतका क्षेत्रका बासिन्दाले प्राप्त गर्नेछन् ।

भविष्यको विमानस्थल विस्तारसँग जोडिएको सम्भावना

यी दुईवटा टनेल परियोजनाको महत्व केवल वर्तमान ट्राफिक व्यवस्थापनसम्म सीमित छैन । भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु चाप बढ्दै जाँदा नयाँ टर्मिनल निर्माणको आवश्यकता पनि देखिन सक्छ ।

यदि सिनामंगल–पेप्सिकोला टनेल तथा तिलगंगा–गुह्येश्वरी जोड्ने संरचना निर्माण भयो भने गुह्येश्वरी वा पेप्सिकोला क्षेत्रतर्फ नयाँ टर्मिनल (टी–२ अथवा आन्तरिक उडान टर्मिनल) विकास गर्ने सम्भावना थप बलियो बन्न सक्छ । यसले विमानस्थलको यात्रु प्रवाहलाई विभिन्न दिशामा विभाजन गर्न सहयोग पुर्‍याउनेछ र वर्तमान मुख्य प्रवेशद्वारमा पर्ने दबाब पनि कम हुनेछ ।

Skip This