
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीको जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले दुर्घटनापछिको अवस्थामा व्यवसायीलाई थुन्ने र तर्साउने कार्यले लगानीकर्ताहरू निरुत्साहित भएको भन्दै राज्यको ध्यानाकर्षण गराए ।
उनले व्यवसायीहरू अपराधी नभएको स्पष्ट पारे ।
अध्यक्ष स्वाँरले वर्तमान बीमा पोलिसीमा रहेका कमजोरीहरूका कारण व्यवसायीहरू मारमा परेको उल्लेख गरे ।
उनले सरकारले फास्टट्रयाकबाट बीमा नीतिमा परिमार्जन गर्नुपर्ने र बीमा पोलिसी बुझाइसकेपछि व्यवसायीले कानूनी उन्मुक्ति पाउने सुनिश्चितता हुनुपर्ने माग गरे ।
निजी क्षेत्रको लगानी बिना राज्य अगाडि बढ्न नसक्ने जिकिर गर्दै स्वाँरले यातायात क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
राज्यले साझा यातायात जस्ता संस्थाहरूमा अर्बौँ लगानी गरे पनि प्रतिफल प्राप्त हुन नसकेको उदाहरण दिँदै उनले देशभरका निजी व्यवसायीले आफ्नै लगानीमा सेवा दिइरहेको स्मरण गराए । उहाँले यो पेशालाई ‘गरिखाने’ माध्यमबाट माथि उठाएर मर्यादित उद्योग बनाउन राज्यले नीतिगत वातावरण बनाइदिनुपर्ने बताए ।
‘घरमा सुतिरहेको व्यवसायीलाई चोर वा अपराधीलाई जस्तै पक्राउ गरेर थाना लैजाने र बार्गेनिङ गर्ने काम बन्द हुनुपर्छ । हामी राज्यलाई अर्बौँ राजश्व बुझाउने जिम्मेवार नागरिक हौँ । त्यसैले राज्यले व्यवसायीलाई अभिभावकत्व प्रदान गर्नुपर्छ । हामी बीमा पोलिसी परिवर्तन गर्न तयार छौँ, तर बीमा प्रक्रिया पूरा भएपछि व्यवसायीलाई अपराधीको रूपमा थुन्ने काम रोकिनुपर्छ,’ उनले भने ।
यातायात क्षेत्रको अधिकार प्रदेशमा आइसकेको सन्दर्भमा उनले तीनै तहका सरकारबीच नीतिगत समन्वय हुनुपर्ने बताए । संघीय सरकारले राष्ट्रिय नीति बनाउने, प्रदेश सरकारले कर र सुविधाहरू तोक्ने र स्थानीय तहले व्यवस्थापनको जिम्मेवारी लिने गरी स्पष्ट कार्यविभाजन हुनुपर्ने उनको सुझाव छ ।
महासंघको आसन्न निर्वाचनका बारेमा जानकारी दिँदै अध्यक्ष स्वाँरले यसपटक ‘ई–भोटिङ’ (विद्युतीय मतदान) प्रणाली अपनाउन लागिएको बताए ।











प्रतिक्रिया