पटक पटक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन गर्न ट्राफिकको सिफारिस

861
Shares

काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने ३१ जना चालकको लाइसेन्स निलम्बनको सिफारिस गरेको छ ।

काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लंघन गर्ने उनीहरूको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिस गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।

प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लंघनमा पटक-पटक कारबाहीमा पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहोर्‍याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था रहेको छ । सोही कानुनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको जनाएको छ ।

पटक-पटक जरिवाना तिराउँदा पनि सवारीचालकहरूमा नियम पालना गर्ने प्रवृत्ति विकास नभएपछि लाइसेन्स नै निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ । लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन् ।

यस कारबाहीले काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पूर्ण पालनामा मद्दत पुग्ने ट्राफिक प्रहरीको विश्वास छ ।

Skip This