युरोपेली संघलाई ट्रम्पको चेतावनी, व्यापार सम्झौता अनुमोदन नगरे थप भन्सार शुल्क लगाउने

77
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली संघलाई अमेरिकासँगको व्यापार सम्झौता अनुमोदन गर्न जुलाई ४ सम्मको समय दिएका छन् ।

२७ राष्ट्रको यस समूहले सो समयभित्र सम्झौता पूरा नगरेमा भन्सार शुल्कलाई अझ उच्च स्तरमा बढाउने चेतावनी उनले दिएका छन् ।

बिहीबार ढिलो गरी ’ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनसँगको राम्रो कुराकानीपछि नयाँ व्यापार समयसीमा तोकेका हुन् । सो कुराकानीमा दुवै नेता इरानले कहिल्यै परमाणु हतियार राख्न नपाउने कुरामा सहमत भएको उनले बताए ।

यो कुराकानी अमेरिकी राष्ट्रपतिले युरोपेली संघबाट आयात हुने कार र ट्रकमा भन्सार शुल्क २५ प्रतिशत पुर्याउने प्रतिज्ञा गरेको केही समयपछि भएको हो । गत जुलाईमा स्कटल्यान्डमा रहेको आफ्नो गल्फ कोर्समा भएको सम्झौताका सर्तहरू पालना नगरेको आरोप ट्रम्पले ईयूमाथि लगाएका छन् ।

‘मैले स्कटल्यान्डको टर्नबेरीमा सहमति गरेको ऐतिहासिक व्यापार सम्झौता, जुन अहिलेसम्मकै ठूलो व्यापार सम्झौता हो, त्यसलाई ईयूले पूरा गरोस् भनेर म धैर्यपूर्वक पर्खिरहेको छु । ईयूले आफ्नो तर्फको काम पूरा गर्ने र सम्झौता अनुसार भन्सार शुल्क शून्यमा झार्ने वाचा गरेको थियो !’ ट्रम्पले भने ।

जुलाई ४ लाई सन्दर्भ गर्दै उनले थपे, “मैले उनलाई (भोन डेर लेयेन) हाम्रो देशको २५०औं जन्मदिनसम्मको समय दिन सहमत भएको छु, अन्यथा उनीहरूको भन्सार शुल्क तुरुन्तै निकै उच्च स्तरमा पुग्नेछ ।’

ट्रम्पले यो भन्सार शुल्क सबै ईयू सामानहरूमा लागू हुने भन्न खोजेका हुन् वा गाडीहरूमा मात्र भन्ने कुरा तत्काल स्पष्ट भइसकेको छैन । यद्यपि, उनको पछिल्लो टिप्पणीले गत साता गाडीहरूमा २५ प्रतिशत शुल्क लगाउने धम्कीबाट उनी केही पछि हटेको संकेत गर्छ ।

ईयूकी भोन डेर लेयेनले सामाजिक सञ्जाल एक्स मार्फत व्यापार सम्झौता कार्यान्वयन गर्न ईयू पूर्ण प्रतिबद्ध रहेको बताइन् । उनले जुलाईको सुरुसम्ममा भन्सार शुल्क घटाउने दिशामा राम्रो प्रगति भइरहेको पनि थपिन् ।

ईयूविरुद्ध ट्रम्पको व्यापारिक धम्की आएको केही घण्टापछि अमेरिकी व्यापार अदालतले ट्रम्पको पछिल्लो १० प्रतिशत विश्वव्यापी भन्सार शुल्क अमेरिकी कानुन अनुसार न्यायोचित नभएको फैसला सुनाएको छ ।

यसअघि सर्वोच्च अदालतले राष्ट्रपतिले दोहोरो अंकको अझ व्यापक भन्सार शुल्क जारी गर्न नसक्ने फैसला गरेपछि ट्रम्प प्रशासनको व्यापार नीतिमा यो अर्को नयाँ धक्का हो ।

युरोपेली संसद्का प्रमुख व्यापार वार्ताकार बर्न्ड ल्याङले बिहीबार ईयूका सांसद र सरकारहरूले अमेरिकासँगको कर शून्यमा झार्ने सम्झौतालाई अन्तिम रूप दिन राम्रो प्रगति गरेको बताए तर अझै केही यात्रा बाँकी नै रहेको पनि थपे ।

व्यापार वार्ताकारहरूको अर्को चरणको वार्ता मे १० मा हुने तय भएको छ । यसै हप्ता ब्लूमबर्गसँग कुरा गर्दै अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले गत वर्षको जुलाईमा भएको सम्झौतालाई ईयूले आफ्नो तर्फबाट पालना गर्ने अपेक्षा गरेको बताए ।

Skip This