तौलमा ठगी गरेको अभियोगमा ‘छाहारी’ ब्रान्डमा सूर्यमुखी तेल उत्पादन गर्ने कम्पनीका सञ्चालक पक्राउ

1.8k
Shares

काठमाडौं । प्रहरीले ओमकार आयल इन्डस्ट्रिज का सञ्चालकलाई पक्राउ गरेको छ । ललितपुरको गोदाबरी नगरपालिका-५, लेलेस्थित कारखाना रहेको यो उद्योगका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

‘छाहारी’ ब्रान्डमा सूर्यमुखी तेल उत्पादन गर्दै आएको यो उद्योगबाट उत्पादित तेलको प्याकेज कम परिमाणमा फेला परेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीको टोलीले श्रेष्ठसँगै कारखानाबाट ९०५ कार्टुन तेल समेत बरामद गरेको छ ।

यस ब्रान्डको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ गरी बिक्री वितरण भइरहेको गोप्य सूचना प्रहरीमा पुगेको थियो । प्रहरीको अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेको प्रहरीले जनाएको छ ।

एक उपभोक्ताका अनुसार यो तेल अन्य तेलको तुलनामा गुणस्तरहिनसमेत रहेको फेला परेको छ । तेलबाट पानीको फोका र साबुनजस्तै लामो समयदेखि फिंजमात्रै आइरहने समस्यासमेत भेटिएको छ ।

जडिबुटीबस्ने सुनिता लामाका अनुसार उत्पादन मिति २०८१ बैशाख रहेको ‘छाहारी’ ब्रान्डको सूर्यमुखी तेलमा यस्तो फिँज देखिएपछि क्लिकमान्डुलाई तेलको प्याकेट उपलब्ध गराइएको थिए । क्लिकमान्डुसँग तेल र उक्त तेलमा साबुनजस्तै उठेको फिँजसम्बन्धी भिडियो पनि सुरक्षित छ ।

Skip This