
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गरी ‘अनलाइन स्क्याम’ (ठगी) गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्यूरोको नाममा ‘ट्रु कलर’मा नक्कली पहिचान बनाएर सर्वसाधारणलाई त्रसित पार्दै रकम असुल गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
ब्यूरोका अनुसार पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ बस्ने ३० वर्षीय दिपक लिम्बु र सुनसरी जिल्लाबाट तीन जना युवाहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-९ का २१ वर्षीय सौरव भुजेल, १३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका-६ का २४ वर्षीय सृजन थापा रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरूले डिजिटल माध्यममा आफ्नो नाम ‘साइबर ब्यूरो’ देखिने बनाई पीडितहरूलाई फोन गरेर डर, त्रास र प्रलोभनमा पार्दै विभिन्न बैंक खाता तथा वालेटमा रकम पठाउन लगाउने गरेका थिए ।
पीडितहरूको उजुरी र प्राविधिक अनुसन्धानका आधारमा ब्यूरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय धरानको समन्वयमा उनीहरूलाई वैशाख १९ गते पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई विद्युतीय माध्यम सम्बद्ध ठगीको कसुरमा थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरिएको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी दिलीप कुमार गिरीले जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक गिरीले अपरिचित नम्बरबाट आउने यस्ता फोनहरूसँग सतर्क रहन र ठगी भएको महसुस हुनासाथ प्रहरीलाई खबर गर्न आग्रह समेत गरेका छन् ।











प्रतिक्रिया