चितवनमा मिटरब्याज सम्बन्धी ५९ उजुरी दर्ता



फाइल फाेटो

चितवन । चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोपिचन्द्र दवाडीका अनुसार २०८१ जेठ ११ गतेदेखि असार १४ गतेसम्म ती उजुरी दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयमा परेको एउटा उजुरीको सहमतिसमेत भइसकेको उनले जानकारी दिए ।

आयोगले उजुरी आह्वान गरेपछि परेका उजुरीमाथि छलफल गर्न सहायक प्रमुख जिल्ला अधिकारी खेमानन्द भुषालको संयोजकत्वमा तीन सदस्यीय उजुरी फर्छ्योट संयन्त्र गठन गरिएको छ । उनले भने “संयन्त्रको बैठक बसेर परेका उजुरीमाथि प्राथमिकताको आधारमा छलफल गरिने छ ।” छलफलमार्फत आपसी समझदारीबाट समाधान निकालिने उनले बताए ।

विसं २०८० साउनयता विभिन्न समयमा आयोगले उजुरी आह्वान गरेपछि अन्य समयमा ९३ उजुरी दर्ता भएका थिए । गत वर्ष माघ ८ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीहरुमध्ये ८६ वटा जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । प्रहरी कार्यालयमा पठाइएका उजुरीमध्ये ५७ वटा फछ्र्यौट हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिए ।

देशका अधिकांश जिल्लाहरुमा हजारौंको संख्यामा मिटरब्याज पीडितहरुले आफू ठगिएको भन्दै लामो संघर्ष गरेपछि सरकारले मिटरब्याज कारोबारको मुद्दालाई गम्भीर रुपमा हेर्न थालेको हो। कतिपय जिल्लामा यस्ता उजुरी परे पनि आरोपितहरु भने फरार छन् । पीडितहरुले आन्दोलन पनि पूर्ण रुपमा स्थगित गरिसकेका छैनन् ।


क्लिकमान्डु