बाढीपहिरो अपडेट: ८३ को मृत्यु, १० करोड ७० लाखभन्दा धेरैको क्षति



काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर यस वर्षको मनसुन सुरु भएयता ८३ जनाको मृत्यु भइसकेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो । जसमा ३३ पुरुष र २५ महिला र २५ बालबालिका रहेका छन् ।

यस्तै मनसुन सुरु भएयता भएका १ सयभन्दा धेरै प्राकृतिक विपद्‍का घटनामा १० करोड ७० लाख ४० हजार नौ सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीले जेठ २८ देखि बुधबार बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिएका छन् । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन् ।

घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन् । यस अवधिमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्तापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार एक सय १७ घटना घटेको र जसका कारण दुई हजार नौ सय ५४ घरपरिवार विस्तापित भएको प्रहरी प्रवक्ता कार्कीले बताए ।


क्लिकमान्डु