स्थिर सरकार बनाउन कांग्रेस-एमाले मिलेका हौं: नेता महत



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताए ।

वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको भन्दै उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । यस्तै संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरु एक भएको उनको भनाइ थियो ।

‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठीक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ । बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ । त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हौं,’ नेता महतले भने ।

विकास निर्माणमा देखिएको अस्थिरता, समयमै काम सम्पन्न नहुने समस्या रहेका ले त्यसलाई समाधान गरेर जनताले देख्ने गरी काम गर्ने आफूहरुको जिम्मेवारी रहेको उनले बताएका थिए । यसका लागि दुवै दलले छलफल गरेर सहमति बनाउने पनि उनले बताए । साथै सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने पनि महतले बताएका थिए । ‘काम पहिल्यै भइसकेको हुन्छ, तर त्यसको बिल जुटेर सम्बन्धित मन्त्रालयबाट अर्थ मन्त्रालयमा आइपुग्दा अन्तिम समयमा हुने प्रचलन छ,’ महतले भने ।


क्लिकमान्डु