चाँदनी दोधारामा अति भारी वर्षा, अहिलेसम्मकै धेरै मापन



कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको दोधारा चाँदनीमा अहिलेसम्मकै सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारिको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ ।

कार्यालयका प्रमुख सञ्जय साहले भने, “दोधारा चाँदनीमा यति धेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो ।” अति भारी वर्षापछ दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ ।

धनगढीमा गएको १२ घण्टामा १८४.७ मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन साहले आग्रह गरेका छन् । दुई सय मिमीभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।

अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् ।

डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वा सूचना दिन यन्त्र गए रातिको बाढीले बगाएको छ ।

केही दिनदेखिको लगातार वर्षापछि आएको बाढीले कञ्चनपुरको अधिकांश भाग डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ ।

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार ६ सय २२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।


क्लिकमान्डु