एमाले मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा, प्रचण्ड अल्पमतमा



काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।

बुधबार राति बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती प्रचण्डको नेतृत्वको सरकारमा थिए ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । उनले अब राजीनामा दिने वा तीसदिन भित्र संसदबाट विश्वासको मत लिनु पर्ने छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि गठबन्धन गर्ने सहमति भइसकेको छ । पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने छन् भने दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।


क्लिकमान्डु