आफूले संसदमा संवोधन गर्दा शीर्ष नेता र मन्त्री संसदमा नभएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफूले संसद्‍‍मा सांसदहरुको प्रश्नको जवाफ दिँदा दलका शीर्ष नेता, मन्त्री र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम थियो । प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिए । प्रधानमन्त्री दाहालले आफूले सम्बोधन गर्ने क्रममा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरे।

दाहालले प्रधानमन्त्रीले संसदमा बोल्दा सकेसम्म सबै उपस्थित हुने परम्परा रहेको स्मरण गराए ।

‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरु, सबै माननीय सदस्यहरु, मन्त्रीहरु इमर्जेन्सीबाहेक सबै माननीयज्यूहरु उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो’, उनले भने, ‘तर अब क्रमशः त्यो पातलिन थालेको छ ।’

संसदमा धेरै सांसद अनुपस्थित हुनुलाई उनले प्रधानमन्त्रीको अवमूल्यन हो कि भन्ने आशंका पनि गरे ।

‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैंलै आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वास सहित बिदा हुन्छु’ प्रचण्डले भने ।

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिए तर, उनी प्रधानमन्त्री बोलिरहेका बेला बाहिरिएका थिए ।

सत्ता गठबन्धनकै शीर्ष नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित थिए भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि थिएनन् । त्यस्तै धेरै मन्त्रीहरुसमेत बैठकमा उपस्थित थिएनन् ।


क्लिकमान्डु