कालिका मन्दिरमा एक महिनाको भेटी संकलन १८ लाख



बागलुङ । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठ महिनाभर १८ लाख रुपैयाँ भेटी संकलन भएको छ ।

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरण अनुसार १८ लाख २६ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले ५८ लाख २४ हजार संकलन गरेको थियो ।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र १० लाख २१ हजार खर्च भएर ८ लाख ५ हजार बचत भएको बताए । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण गर्न थालिएको उनले जानकारी दिए । उनले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिने बताए ।

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट ३ लाख ६ हजार ४ सय, आर्थिक सहयोग वापत ५६ हजार ६ सय ८३, परेवा बिक्रीबाट २ लाख ४० हजार ७ सय ५०, चामल बिक्रीबाट ९ हजार, बोकाको टाउको बिक्रीबाट ११ हजार ९ सय, कुखुरा बलिबाट ९ सय, राँगा बलिबाट ३ हजार ६ सय, विवाहबाट १ हजार र पण्डितबाट ४ सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

जेठमा कर्मचारीको तलबभत्तामा ४ लाख ३४ हजार, विद्युत्मा २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा ४६ हजार, उपहार ९ हजार, पूर्वाधारतर्फ २ लाख ३६ हजार, पूजा खर्च ५५ हजार, जग्गा व्यवस्थापन एक लाख ५० हजार, खाद्य तथा आवास ५७ हजार र विज्ञापनमा ५ हजार खर्च भएको अध्यक्ष खड्काले बताए ।


क्लिकमान्डु