नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा शाक्यको उम्मेदवारी घोषणा
काठमाडौं । नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा रमेशमान शाक्यले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि संघको दुई कार्यकाल कार्यकारी सदस्य र दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका काम गरेका शाक्यले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३१ का ५०१ व्यापारी व्यवसायी सदस्य रहेको संघ २०६३ सालमा स्थापना भएको हो । स्थापना कालदेखि संघको सदस्य रही विभिन्न सहयोग गर्दै आएका शाक्यले आगामी कार्यकाल नेतृत्वका लागि आकांक्षा राखेको बताएका छन् ।
धराशयी बनेको नयाँ बानेश्वरको व्यापार व्यवसायलाई लयमा फर्काउन आफूले उम्मेदवारी दिएको उनले बताए ।
‘अहिलेको कार्यसमिति फुटपाथ हटाउने र सरसफाइ गर्नेमा केन्द्रित छ,’ उनले भने, ‘तर त्यो काम महानगरपालिकाले गरिहाल्छ, हामीले भनेको नयाँ बानेश्वरको व्यापार व्यवसायलाई पहिलेको अवस्थामा कसरी फर्काउन सकिन्छ, त्यसका लागि काम गर्नुपर्छ ।’
शाक्य काठमाडौं सुनचाँदी व्यवसायी संघको प्रवक्ता पनि हुन् । त्यस्तै नेपाल जेसिजको पूर्व राष्ट्रिय उपाध्यक्ष तथा गोदावरी जेसिजको पूर्वअध्यक्ष पनि हुन् ।
संघको पुस १४ गते काठमाडौंको नयाँ बानेश्वरमा हुने १४औं साधारण सभा तथा ७औं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
हाल संघको अध्यक्ष नवीन लुइँटेल छन् । लुइँटेलले पनि आगामी कार्यकालका लागि पुन: उम्मेदवारी घोषणा गरेका छन् । संघको विधानमा एक जना व्यक्ति २ पटकसम्म अध्यक्ष बन्न सक्ने व्यवस्था छ ।
त्यस्तै यशोदा सिके बुढाथोकीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।