सञ्चारकर्मी रतनले ल्याए ‘देश छोड्नेको लर्को’
काठमाडौं । शैक्षिक अभियन्ता एवं सञ्चारकर्मी रतन देवकोटाको ‘देश छोड्नेको लर्को’ गीत सार्वजनिक भएको छ । समीक्षा अधिकारी र देवकोटाको स्वरमा सजिएको गीतको भिडियो निर्देशन मानव सुवेदीले गरेका छन् भने मुख्य अभिनय सुरक्षा पन्तले गरेकी छन् ।
गीतमा समग्र वर्तमान नेपाली समाजको वास्तविक चित्र देखाइएको छ । नारीहरूले न्याय नपाएको कुरादेखि भ्रष्टाचार र राजनीतिक बेइमानीका कुरा उठाइएका छन् ।
नाटकीय शैलीमा गीतले युवाले देश छोड्नुका कारण उठाएको छ । नागरिकहरू सरकार, राजनीतिक दल र कर्मचारी प्रशासनबाट हैरान भएको कुरा प्रस्तुत गरिएको छ । सुशासनको प्रत्याभूत गर्न नसकेका कुरा उठाइएको छ । नेता मात्रै समस्या होइनन्, जनता स्वयं एक चोक्टा मासु र एक चुस्की रक्सीमा भुलेको कुरा पनि गीतमा नाटकीय ढंगले प्रस्तुत गरिएको छ ।
विभिन्न जात जाति धर्म र समुदायलाई प्रतिनिधि पात्रका रूपमा गीतमा उभ्याइएको छ । देशमा गरिखाने सकारात्मक माहोल नभएपछि अधिकांश युवाले बिदेसिने सपना देखिरहेका छन् । देश छोड्नु धेरैको रहर होइन, बाध्यता बनेको कुरा प्रस्ट्याइएको छ ।
सन् २०२० मा यो कस्तो शिक्षा हो ? गीत सार्वजनिक गर्दै संगीत क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका देवकोटा ग्यालेक्सी टिभीमा प्रसार हुने युगान्तर तथा शैक्षिक अपरेसन कार्यक्रमका निर्माता तथा प्रस्तोता हुन् ।
१० वर्षदेखि शिक्षा तथा मिडियामा सक्रिय रतन देवकोटा सङ्गीत कम्पोजर, गीतकार तथा गायक हुन् । शिक्षा क्षेत्रको बेथिति विसङ्गतिलाई संगीतको माध्यमबाट व्यङ्ग्यात्मक रूपमा भन्दै आइरहेका छन् । उनी शिक्षा तथा सामाजिक विषयवस्तुमा कलम चलाउँछन् ।
गीत रतन देवकोटा युट्युब च्यानलबाट सार्वजनिक भएको छ । म्युजिक भिडियो हेर्नका लागि तलको लिंकमा जानुहोस् ।