दुर्घटनाग्रस्त मनाङ एयर खोज्न गएको अल्टिच्युडका २ हेलिकप्टर अवतरण हुन सकेनन्



काठमाडौं । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न गएको अल्टिच्युड एयरको हेलिकप्टर अवतरण हुन सकेको छैन ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लम्चुराडाँडामा दुर्घटनामा परेको मनाङको हेलिकप्टरको खोजी गर्न अल्टिच्युड एयरको दुई हेलिकप्टर गएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रताप तिवारीले मौसममा आएको खराबीका कारण उद्धारमा गएको हेलिकप्टर ल्याण्ड हुन नसकेको जनाए ।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले घटनास्थलमा पुगेको प्रहरीले ४ जनाको शव प्राप्त भएको जानकारी दिएको बताए ।

‘हेलिकप्टर क्षतविक्षत अवस्थामा भएको प्रहरीले जानकारी दिएको छ’, सिटौलाले भने, ‘घटनास्थलमा ४ जनाको शव प्राप्त भएको छ । अन्यको खोजी भइरहेको छ ।’

क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए ।

मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिकएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उडान भरेको ८ मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको थियो ।


क्लिकमान्डु