विदेशी विनियम संचिति ३७ खर्ब रुपैयाँ बराबर पुग्यो, १९ महिनाको आयात धान्न पुग्ने

63
Shares

काठमाडौं । विदेशी विनिमय संचिति ३७ खर्ब ०४ अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्मको तथ्यांक अनुसार अमेरिकी डलरमा विदेशी विनियम संचिति २४ अर्ब १९ करोड पुगेको छ ।

यस्तो विदेशी मुद्रा संचिति २०८२ असार मसान्तको तुलनामा वैशाखसम्ममा ३८.३ प्रतिशतले बढेको छ । असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असारमा १९ अर्ब ५० करोड डलर थियो । गत असारदेखि वैशाखसम्ममा डलर संचिति २४.० प्रतिशतले बढेको देखिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८३ बैशाख मसान्तमा ३६.६ प्रतिशतले बढेर ३२ खर्ब ९८ अर्ब ३८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८३ बैशाख मसान्तमा ५४.४ प्रतिशतले बढेर ४ खर्ब ६ अर्ब १७ करोड कायम भएको छ ।

२०८३ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत रहेकोछ । आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिब क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८३ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६०.७ प्रतिशत, १५९.७ प्रतिशत र ४३.३ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Skip This