बाह्य क्षेत्रको सन्तुलन : शोधनान्तर बचत साढे ८ खर्ब माथि, चालु खाता उल्लेख्य बचतमा

28
Shares

काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको वाह्य क्षेत्रको सन्तुलन अत्यन्त सकारात्मक देखिएको छ ।

मध्यपूर्व द्वन्द्वका कारण सप्लाई चेनमा परेको प्रभावका कारण बढेको महँगिले पछिल्लो महिनाहरुमा आयात २ खर्ब माथि पुगेको छ । आयात बढे तापनि रेमिट्यान्समा भएको भारी वृद्धिले बाह्य क्षेत्रको सन्तुलनमा उल्लेख्य सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ वैशाखसम्मको तथ्यांक अनुसार चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य बचतमा रहेका छन् ।

चालू आवको वैशाखसम्म मुलुकको शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोडले बचतमा छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आर्थिक वर्षको वैशाखसम्म ३ अर्ब २३ करोड डलर रहेको शोधनान्तर बचत चालू आवको सोही अवधिमा ५ अर्ब १८ करोड डलर पुगेको छ ।

शोधनान्तरसँगै मुलुकको चालू खातामा पनि उत्साहजनक सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार वैशाखसम्म चालू खाता ७ खर्ब २९ अर्ब २८ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा गत आवमा २ अर्ब १ करोड डलरले बचतमा रहेको चालु खाता बचत यो वर्ष बढेर ५ अर्ब ५ करोड डलरले बचतमा रहेको छ ।

पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानीमा पनि सुधार आएको छ । चालु आवको वैशाखसम्म खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा खुद पुँजीगत ट्रान्स्फर ८ अर्ब ४८ करोड रुपैयाँ थियो ।

प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) मा पनि उल्लेख्य सुधार देखिएको छ । चालू आवको १० महिना (वैशाखसम्म) १६ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आर्थिक वर्षको वैशाखसम्म प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

Skip This