
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर र चेक अनादर सम्बन्धी १४ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
ब्यूरोको टोलीले काठमाडौंको साविक विष्णु गाविस वडा नं. ८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–५ बस्ने ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो।
मिजारलाई काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट जेठ २५ गते पक्राउ गरिएको ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।
मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतमा १२ वटा बैंकिङ कसूर र २ वटा चेक अनादर गरी जम्मा १४ वटा मुद्दा दायर भएका थिए। ती मुद्दाहरूको फैसलाका क्रममा उनलाई २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५३४ रुपैयाँ ८० पैसा जरिवाना र १ लाख ७२ हजार ९४१ रुपैयाँ ३९ पैसा क्षतिपूर्ति रकम भराउने फैसला भएको थियो।
उनलाई ९० दिन कैद सजाय समेत तोकिएको थियो। अदालतको फैसलापछि फरार रहँदै आएका मिजारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया