बुध्द एयरले नेपाली सेनालाई दियो एटीआर विमानको फ्युजलेज, सेनाको तालिम लागि उपयोगी

210
Shares


काठमाडौं। बुध्द एयरले उडान सेवाबाट अवकाश प्राप्त एटीआर-७२ विमानको मुख्य भाग (फ्युजलेज) नेपाली सेनालाई हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित एक विशेष समारोहका बीच यो हस्तान्तरण गरिएको हो।

बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुप जंग थापालाई उक्त फ्युजलेज हस्तान्तरण गरे । ७० हजार उडान चक्र (साईकल) पूरा गरेपछि बुध्द एयरले यो विमानलाई केही महिना अघि मात्रै उडानबाट अवकाश दिएको थियो।

हस्तान्तरण गरिएको विमानको फ्युजलेजलाई नेपाली सेनाले विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सुरक्षा चुनौती र आपतकालीन अवस्थाको पूर्वतयारी तथा प्रतिकार क्षमता वृद्धि गर्न प्रयोग गर्नेछ।

विशेषगरी ‘विमानस्थल आपतकालीन योजना’ अन्तर्गत हुने विभिन्न सतर्कता स्तरका प्रशिक्षणहरूमा यो फ्युजलेज अत्यन्तै प्रभावकारी हुने विश्वास लिइएको छ।

बुध्द एयरका कार्यकारी अध्यक्ष बस्नेतले विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिकाको प्रशंसा गरे । उनले नेपाली सेना जस्तो प्रतिष्ठित संस्थाको क्षमता अभिवृद्धिमा सहयोग गर्न पाउनु बुद्ध एयरका लागि गर्वको विषय भएको पनि बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बुध्द एयरको यो कार्यलाई उदाहरणीय पहल’को रूपमा व्याख्या गरे। उनले यसबाट सेनालाई सुरक्षा तयारी र पूर्वाभ्यासमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै नागरिक उड्डयन सुरक्षामा बुद्ध एयरको निरन्तर सहकार्यको प्रशंसा गरे ।

यो हस्तान्तरणसँगै नेपाली सेनाले अब वास्तविक विमानकै ढाँचामा हवाई उद्धार र सुरक्षासम्बन्धी व्यवहारिक अभ्यासहरू सञ्चालन गर्न पाउनेछ, जसले हवाई सुरक्षा र संकट व्यवस्थापनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Skip This