मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन, प्रधानमन्त्रीसहित मन्त्रीका हातमा चिजदेखि मोहीसम्म

1.4k
Shares

काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न विशेष अग्रसरता देखाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डीडीसी० का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाएकी छन् ।

बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएकी थिइन ।

मन्त्री चौधरीले भनिन, ‘डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबिच आपसी समन्वय आवश्यक छ । नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाटै ठोस पहल हुनुपर्छ ।’

बैठककै क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीद्वारा उत्पादित शुद्ध घिउ, दही, पनिर, चिजलगायतका सामग्रीहरूको उपहार प्याकेज वितरण गरेकी थिइन ।

लामो समयदेखि नेपाली उपभोक्तामाझ गुणस्तरीय दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई प्रधानमन्त्री बालेन्द्र शाहले पनि पूर्ण समर्थन जनाएका थिए । प्रधानमन्त्री शाहले डीडीसीका उत्पादनहरूको प्रवर्द्धन र प्रचारमा स्वयम् सहभागी भएर स्वदेशी वस्तुको उपभोग बढाउनुपर्ने बलियो सन्देश दिएका छन् ।

सरकारको यो कदमले स्वदेशी किसानहरूलाई प्रोत्साहन मिल्नुका साथै सरकारी संस्थानको व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

यसअघि प्रधानमन्त्री शाहले जेठ २ गते सामाजिक सञ्जालमार्फत ‘से चीज, डीडीसीको चीज’ स्टाटससहित डीडीसीले उत्पादन गर्ने याक चिजको बजार प्रवर्द्धन गरेका थिए ।

Skip This