
काठमाडौं । अहिलेको डिजिटल युगमा इन्टरनेटको व्यापक पहुँचले विश्वलाई जोडेको त छ तर सँगसँगै राजनीतिक आस्था वा सामाजिक आक्रोशको आडमा अर्को व्यक्तिलाई लागि पैसा कमाउने माध्यम पनि बनिरहेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालका दिग्गज कम्पनी मेटा (फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी) ले कन्टेन्ट क्रिएटर वा सामग्री निर्माताहरूका लागि मोनेटाइजेशनको ढोका खोलेपछि इन्टरनेटमा क्लिकबेट र रेजबेटको बाढी नै आएको छ ।
विशेषगरी विदेशमा बसेर अर्को देशको संवेदनशील मुद्दाहरूमा चर्का कुरा गर्ने र त्यसबाट डलर बटुल्ने प्रवृत्तिले लोकतान्त्रिक बहस र सामाजिक सद्भावलाई गम्भीर संकटमा पारेको छ ।
हालै क्यानडाको सीबीसी न्युजमा प्रकाशित सामग्रीअनुसार, अल्बर्टा प्रान्तमा देखिएको पृथक्तावादी आन्दोलनको आडमा इन्डोनेसिया र पाकिस्तानका नागरिकहरूले चलाएको डिजिटल खेल यसको एउटा ज्वलन्त उदाहरण हो ।
क्यानडाको अल्बर्टामा बस्ने बासिन्दाहरूले सामाजिक सञ्जालमा निटा अकिला नामको एउटा प्रोफाइललाई निकै सक्रिय भइरहेको देख्थे । यस अकाउन्टले आफूलाई अल्बर्टाको कट्टर समर्थक र क्यानडाबाट अलग हुनुपर्छ भन्ने अभियानको अभियन्ताका रूपमा प्रस्तुत गर्थ्यो ।
अकिलाले फेसबुकका विभिन्न समूहहरूमा ‘मैले अल्बर्टाको स्वतन्त्रताको लागि हस्ताक्षर गरें’ वा ‘क्यानडा अब पहिले जस्तो महान् देश रहेन’ जस्ता उत्तेजक कुराहरू लेख्ने गर्थिन् । अभियानको लागि हस्ताक्षर संकलन गर्दा उनीमाथि ढुंगा प्रहार गरिएको र दुर्व्यवहार पनि भएको भनी उनले दाबी समेत गरिन् । यस्ता पोस्टहरूले अल्बर्टाका वास्तविक बासिन्दाहरूमा ठूलो आक्रोश र प्रतिक्रिया पैदा गर्थ्यो ।
तर, सीबीसीको खोजमूलक अनुसन्धानले यो पर्दा उघारिदियो । अकिला वास्तवमा क्यानडाकी नागरिक नभएर इन्डोनेसियाको पालेम्वाङ सहरमा बस्ने एक चाउचाउ व्यापारी र सामग्री निर्माता रहेको खुल्यो । उनले अल्बर्टाका वास्तविक बासिन्दाहरूको पोस्ट र फोटो चोरेर आफूलाई क्यानेडियन देखाउने प्रपञ्च गरेकी थिइन् ।
यो कुनै एक्लो घटना होइन । सीबीसीले अल्बर्टाका पृथक्तावादी समूहहरूमा सक्रिय रहेका कम्तीमा १४ वटा यस्ता वैदेशिक अकाउन्टहरू पहिचान गरेको छ जुन इन्डोनेसिया, पाकिस्तान, भारत, श्रीलंका र अमेरिकाबाट सञ्चालन भइरहेका थिए ।
यी अकाउन्ट सञ्चालकहरूलाई क्यानडाको राजनीति वा अल्बर्टाका जनताको समस्यासँग कुनै सरोकार छैन । उनीहरूको एउटै लक्ष्य भनेको मेटाको मोनेटाइजेशन कार्यक्रममार्फत पैसा कमाउनु हो ।
फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई उनीहरूको पोस्टमा आउने प्रतिक्रिया, टिप्पणी र सेयरको आधारमा पैसा दिने गर्छ । जति धेरै मानिसहरू आक्रोशित हुन्छन् वा बहस गर्छन्, त्यति नै धेरै पैसा ती सामग्री निर्माताको खातामा जम्मा हुन्छ ।
इन्डोनेसियामा बसेर अल्बर्टाको राजनीतिक मुद्दामा आगो झोस्ने अकिलाले फेसबुकबाट महिनाको केही डलर कमाइरहेको स्क्रिनसट नै पोस्ट गरेकी थिइन् जुन नेपाल सहितका देशका नागरिकका लागि आकर्षक आम्दानीको स्रोत बनेको छ ।
विज्ञहरूका अनुसार, फेसबुकको यो प्रोत्साहन प्रणालीले सार्वजनिक बहसको गुणस्तरलाई नै नष्ट गरिदिएको छ ।
प्राविधिक भाषामा इंगेजमेन्ट फार्मिङ भन्ने यो प्रवृत्ति अहिले नेपाल सहित धेरै देशमा फैलिएको छ । यसमा प्रयोगकर्ताको भावनासँग खेलबाड गरेर विज्ञापनबाट आउने राजस्वमा हिस्सा खोजिन्छ ।
भारतमा पनि धार्मिक र राजनीतिक ध्रुवीकरणका मुद्दाहरूमा यस्तै प्रकारका ’क्लिकबेट’ सामग्रीहरूले प्रश्रय पाइरहेका छन् । युट्युब र फेसबुकमा केही डलरका लागि मानिसहरूले एउटा समुदाय विरुद्ध अर्को समुदायलाई उक्साउने सामग्रीहरू बनाउने गरेका छन् ।
मोनेटाइजेशन सुरु भएपछि नेपालमा पनि कन्टेन्ट क्रिएटरहरूको बाढी आएको छ । विशेषगरी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र विरोधीहरूबीचको ध्रुवीकरणले इंगेजमेन्ट फार्मिङलाई प्रोत्साहन गरिरहेको छ । सत्ताका विरुद्ध सामग्री पोस्ट गर्ने क्रिएटरहरूको पोस्टमा आक्रोशपूर्ण र अश्लील कमेन्टका बाढीहरू आइरहेका हुन्छन् । त्यसबाट क्रिएटरहरूले डलर कमाइरहेका छन् ।
मेटाले मोनेटाइजेशनका लागि कडा नियमहरू भएको दाबी गरेको भए पनि वास्तविक सामग्री र चोरी गरिएको वा कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको सामग्री छुट्याउन उसका एल्गोरिदमहरू अक्सर असफल भइरहेको देखिन्छ । त्यसले गर्दा डिजिटल ठगहरूले पैसा कमाइरहेका छन् र फेसबुक आफैंले मानिसहरूलाई आफ्नो प्ल्याटफर्ममा अल्झाइराखेर विज्ञापनबाट अर्बौं डलर नाफा गरिरहेको छ ।
नेपालमा युट्युबरहरूको बिगबिगी बढेको पनि यही मोनेटाइजेशनकै कारण हो । आफूलाई पत्रकार जस्तो गरी प्रस्तुत गरेर युट्युबरहरू जतासुकै पुगेर जोसुकैसँग अन्टसन्ट प्रश्न गरिरहेका हुन्छन् । एउटा बुम तेर्स्याएर उनीहरू सांसद, नेता र सर्वसाधारणसम्मलाई ताल न सुरका प्रश्न गर्दै त्यस्तै किसिमका उत्तर निकालेर भ्युज बढाइरहेका छन् । उनीहरूको कन्टेन्टमा जति बढी भ्युज भयो, त्यति नै पैसा झर्ने गरेको छ ।
एउटा पछिल्लो उदाहरण हेरौं । एकजना सांसदले गाउँहरूमा बाँदरको आतंक बढिरहेको र गाउँलेहरू बाँदर मार्न बाध्य भएको कुरा संसदमा उठाएका थिए । बाँदर मार्ने काममा आफ्नो समर्थन रहेको उनले बताए । उनी संसद् भवनबाट बाहिर निस्कनेबित्तिकै एकजना युट्युबरले उनलाई ‘तपाईं हत्यारा हो ?’ भन्दै प्रश्नले झम्टिए । अक्क न बक्क परेका ती सांसदको प्रतिक्रिया युट्युबरका लागि लाखौं भ्युज बटुल्ने माध्यम बन्यो ।
त्यसैगरी अर्काको घरपरिवार भाँड्ने किसिमका सामग्री, अपराधका घटनालाई सनसनीखेज तरिकाले प्रस्तुत गर्ने प्रवृत्ति, विश्लेषक वा टिप्पणीकारलाई उत्तेजक अभिव्यक्ति दिनका लागि भड्काउने काम लगायतबाट युट्युबहरूले भ्युज र डलर बटुलिरहेका छन् । यसले समाजलाई अधोगतितर्फ धकेलिरहेको स्पष्ट छ ।
युट्युब/फेसबुकमा आउने ‘डलर’ र टिकटकमा पाइने ‘गिफ्ट’का लागि मानिसहरूले आफ्नो नैतिकता र मर्यादा बिर्सिरहेका छन्। ‘क्लिकबेट’राखेर दर्शक झुक्क्याउने काम सामान्य भइसकेको छ । कसैको व्यक्तिगत जीवनको विवाद, श्रीमान-श्रीमतीको झगडा वा रोइलोलाई प्रत्यक्ष प्रसारण गरेर भ्यूज बटुल्ने कामले नेपाली समाजको संवेदनशीलतालाई नै प्रहार गरिरहेको छ ।
नेपालमा ‘प्राङ्क’ भिडियो बनाउने नाममा बाटोमा हिँडिरहेका अपरिचित मानिसहरूलाई तर्साउने, गाली गर्ने वा अपमानित गर्ने प्रवृत्ति बढेको छ । अरूको गोपनीयता र सम्मानको ख्याल नगरी खिचिएका यस्ता भिडियोहरूले समाजमा नकारात्मक प्रभाव पारेका छन् । कतिपय अवस्थामा त यस्ता हर्कतहरूले कानुनी झमेला समेत निम्त्याएका छन्।
खासगरी टिकटक र रिल्सहरूमा अश्लील हाउभाउ देखाउने, द्विअर्थी लाग्ने संवादहरू बोल्ने र समाजले पचाउन नसक्ने खालका पहिरन लगाएर ‘भाइरल’ हुने होडबाजी चलेको छ । यसले गर्दा नयाँ पुस्तामा ‘छाडा हुनु नै आधुनिक हुनु हो’ भन्ने गलत सन्देश गइरहेको छ ।
पैसाकै लागि कतिपय कन्टेन्ट क्रिएटरहरूले संवेदनशील विषयमा अफवाह फैलाउने गरेका छन् । कुनै चर्चित व्यक्ति वा घटनालाई लिएर प्रमाणबिनाका कुराहरू फैलाउँदा समाजमा भ्रम र त्रासको वातावरण सिर्जना भएको छ । यसले गर्दा वास्तविक पत्रकारिता र सामाजिक सञ्जालबीचको लक्ष्मणरेखा मेटिँदै गएको छ।
नेपाली समाजका मौलिक मूल्य-मान्यता र मर्यादाहरू भत्किँदै गएका छन् । सस्तो लोकप्रियताले गर्दा युवाहरूमा गलत बाटोबाट पैसा कमाउने मोह जागेको छ ।
यो समस्याको समाधान प्रविधिमा मात्र भन्दा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको चेतनामा निर्भर छ । डिजिटल साक्षरता नभएका कारण धेरै मानिसहरू अन्जानमै यस्ता उत्तेजक पोस्ट र भिडियोहरूको सिकार भइरहेका छन् । यस्ता सामग्रीलाई सेयर गरेर प्रयोगकर्ताले ठगहरूको कमाइ बढाइरहेका छन् ।
इन्टरनेटमा देखिने हरेक कुरा सत्य हुँदैनन् भन्ने बुझ्नु अहिलेको समयमा अनिवार्य भएको छ । विशेषगरी राजनीतिक वा सामाजिक रूपमा उत्तेजित पार्ने सामग्रीहरू देख्दा त्यसको स्रोत र आधिकारिकता जाँच गर्नुपर्छ ।
सामाजिक सञ्जाल कम्पनीहरूले पनि नाफालाई मात्र केन्द्रमा नराखी आफ्नो प्ल्याटफर्मको शुद्धता र प्रयोगकर्ताको सुरक्षामा ध्यान दिनु जरुरी छ । मोनेटाइजेशनले सामग्री निर्माताहरूलाई प्रोत्साहन त दिएको छ तर यसले नैतिकता र सत्यलाई भने तिलाञ्जलि दिएको छ ।
पाठक र दर्शकहरूको भावनासँग खेल्ने यस प्रवृत्तिले संसारभरि नै लोकतन्त्रलाई कमजोर बनाइरहेको छ । सामाजिक सञ्जालका एल्गोरिदमहरूले आक्रोश र घृणालाई नै बढी प्राथमिकता दिइरहेसम्म कन्टेन्ट क्रिएटरहरूले स्तरहीन सामग्री पस्केर जनतालाई आपसमा लडाउने र पैसा कमाउने काम गरिरहेकै हुनेछन् ।
इन्टरनेटलाई सूचनाको केन्द्र बनाउने कि घृणाको व्यापार गर्ने थलो बनाउने हो ? यो अहिलेको समयको सबैभन्दा ठूलो प्रश्न हो । मेटा, अल्फाबेट र अन्य प्रविधि कम्पनीहरूले आफ्नो मोनेटाइजेशन नीतिलाई अझ बढी जिम्मेवार बनाउन र नक्कली परिचय भएका प्रयोगकर्ताहरूलाई निरुत्साहित गर्न ढिला भइसकेको छ ।
प्रयोगकर्ताले पनि क्लिक गर्नुअघि एकपटक सोच्ने र आवेगमा नआउने हो भने मात्र यस्ता डिजिटल ठगहरूको बजार बन्द हुन सक्छ । प्रयोगकर्ताको एउटा लाइक वा सेयरले कसैको गोजी भरिरहेको हुन सक्छ तर त्यसले समाजलाई कता लैजाँदैछ भन्ने कुराको ख्याल गर्नु आजको अपरिहार्यता हो ।











प्रतिक्रिया