ईभीको करको दरमा नियतवश हेरफेर भयो, अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ: एमाले

14
Shares

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले विद्युतीय सवारी साधन (ईभी) को करको दर निर्धारणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले जेठ १५ गते सार्वजनिक भएको आर्थिक विधेयकमा २० देखि ३० लाख मूल्यसम्मका विद्युतीय सवारीको दररेट नियतवश हेरफेर गरिएको दाबी गरे ।

सांसद थेबेले संसदमा दर्ता भएको आर्थिक विधेयक र पछि मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको विधेयकमा फरक देखिएको भन्दै सुरुमा यसलाई मानवीय त्रुटि वा ‘टाइपिङ मिस्टेक’ भनिए पनि मन्त्रालयको वेबसाइटबाट विधेयक हटाएर पुनः सच्याएर राख्नुले यसमा गम्भीर षड्यन्त्र लुकेको तर्क गरे ।

‘हामीलाई लागेको थियो यो मानवीय त्रुटि हो, तर आज बजारमा कोलाहल छ । यो टाइपिङ मिस्टेक होइन, नियतवश गरिएको रहेछ,’ उनले भने ।

यो प्रकरणमा भन्सारका कर्मचारीहरू निलम्बनमा पर्नुले पनि अनियमितता पुष्टि हुने उनको भनाइ छ ।

सांसद थेबेले यस प्रकरणमा भएको चलखेललाई व्यङ्ग्य गर्दै भने, ‘यो यति धेरै ठूलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने हो भने एउटा भरियाले बोक्न नसक्ने रहेछ, यसका लागि त ठूलो ट्रक नै चाहिन्छ ।’

संसदमा दर्ता भएको आधिकारिक दस्तावेज र सार्वजनिक गरिएको विवरण फरक पर्नुलाई गम्भीर रूपमा लिन आग्रह गर्दै उनले यसको नैतिक जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताए । यो विषयको उचित समाधान र स्पष्टता नआएसम्म एमालेले विरोध जारी राख्ने चेतावनी समेत उनले दिए ।

Skip This