सवारी साधनमा हेडलाइट र हर्न थप गर्नेमाथि कारबाही हुने, विभागले निकाल्यो सूचना

119
Shares

काठमाडौं । सरकारले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको प्राविधिक स्पेसिफिकेसनभन्दा बाहिरका हेडलाइट र हर्न जडान गरी चलाउनेहरूमाथि कडा निगरानी र कारबाही गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । विभागका अनुसार पछिल्लो समय सवारी साधनको हेडलाइट भएको स्थानको नजिक वा अन्य भागमा कम्पनीले तोकेको भन्दा फरक र अधिक क्षमताका लाइटहरू जडान गर्ने क्रम बढेको छ । यस्ता अनधिकृत लाइटहरूले गर्दा सवारी चलाउन बाधा पुग्ने र पैदल यात्री एवं अन्य सवारी साधनहरू दुर्घटनामा पर्ने जोखिम बढेपछि विभागले कडाइ गर्न लागेको हो ।

के छ कानुनी प्रावधान ?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा ३९ अनुसार कार्यालयको पूर्व स्वीकृति नलिई सवारीको स्वरूप वा प्राविधिक पक्षमा हेरफेर गर्न पाइँदैन । यसैगरी, सवारी निरीक्षण/परीक्षण मापदण्ड २०७४ ले हेडलाइटको तीव्रताका सम्बन्धमा स्पष्ट सीमा तोकेको छ । डिप वा कम बिममा प्रकाशको तीव्रता १५,००० देखि ३०,००० क्यान्डेला सम्म हुनुपर्ने छ भने हाई बिममा प्रत्येक हेड ल्याम्प १,०००,००० क्यान्डेला भन्दा कम र चारवटै हेड ल्याम्पको समग्र तीव्रता २,००,००० क्यान्डेला भन्दा कम हुनुपर्ने व्यवस्था छ।

प्रकाशको तीव्रता मात्र नभई हर्नको ध्वनिका सम्बन्धमा पनि विभागले स्पष्ट मापदण्ड तोकेको छ । सवारी साधनमा जडान गरिने हर्नको ध्वनि न्यूनतम ९० डेसिबलदेखि अधिकतम ११२ डेसिबल सम्म मात्र हुनुपर्नेछ । विभागले आफुखुशी ‘प्रेसर हर्न’ वा अन्य चर्को आवाज आउने हर्नहरू जडान गर्न पूर्ण रूपमा रोक लगाएको जनाएको छ ।

यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘यदि उक्त प्रावधान विपरीत बत्ती तथा हर्न जडान गरी सवारी साधन चलाएको खण्डमा प्रचलित नियम कानून अनुसार कडा कारबाही गरिनेछ ।’

Skip This