चितवनमा रोपाहार पाउनै मुस्किल



चितवन । असार महिना सकिनै लाग्दा धान उत्पादनका लागि उर्बरा भूमि मानिएको चितवनका किसानहरु रोपाहार खोज्न व्यस्त छन् । चितवनमा व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानहरु यो मनसुनमा रोपाहार खोज्दै हिँड्न बाध्य छन् ।

भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले स्थानीय रोपाहार नपाएपछि अन्यत्रबाटै रोपाहार ल्याउने तयारीमा रहेको बताउँछन् । यसरी टाढाबाट रोपाहार ल्याउँदा खर्चिलो हुने उनको गुनासो छ ।

“स्थानीय रोपाहार पाउनै कठिन भएको छ । यहाँ वृद्धवृद्धाहरु मात्रै हुनुहुन्छ ।” युवा पुस्ता विदेश पलायन भइरहँदा यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले समस्या भएको अधिकारीको भनाइ छ । अधिकारी भन्छन्, “युवाहरूमा समेत काम गर्ने जाँगर नहुँदा स्थानीय कामदार पाउन कठिन भएकाले अन्यत्रबाटै कामदार प्रयोग गर्न थालेका छौँ ।”

पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट कामदारहरु चितवनमै कोठा भाडामा लिएर काम गर्न थालेको उनी बताउँछन् । सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको पनि किसानको गुनासो छ ।

यस्तै समस्यामा छिन् भरतपुर –२४ की रतिमाया गुरुङ पनि । उनी अहिले पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा छिन् । तर रोपाहार नपाइने हो कि डरले निकै सताएको छ । अहिले जिल्लामा पर्याप्त रोपाहारहरु नहुँदा अधिकांश किसानले अन्यत्र जिल्लाका रोपाहारलाई काम लगाउन थालेका छन् ।

भरतपुरकै शिव शर्मा अहिले रोपाहारकै खोजीमा छन् । उनी भन्छन्, “स्थानीय रूपमा काम गर्न सक्ने युवायुवती विदेश पलायन भइसके । अब कसरी खेती गर्ने !” अहिले स्थानीय रूपमा वृद्धवृद्धाबाहेक समाजमा कोही नहुँदा कृषिकर्म नै समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको बताउँछन् शर्मा । त्यसो त पढाइ तथा कामका लागि सबैभन्दा धेरै युवाहरु विदेश जाने जिल्लामा चितवन पनि एक हो । जहाँबाट हरेक वर्ष हजारौंको संख्यामा युवाहरु विभिन्न देश जाने गरेका छन् ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिए । उनले भने, “स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन् ।”

स्थानीय रूपमा पाइने कामदारहरुलाई पूरा समय काम लगाउन पनि नसकिने अवस्था रहेको उनी बताउँछन् । जिल्लाका अधिकांश क्षेत्रमा तराईमूलका कामदारले धान रोप्ने गरेको भन्दै युवाशक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको उनको तर्क छ । पछिल्ला दिनहरूमा मजदुरको अभाव बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम पनि बढेको पाइन्छ । तर मेसिनबाट रोप्न बीउ राख्ने समयमा नै सोहीअनुसार राख्नुपर्ने हुन्छ ।

जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । उनका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ । नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ सुरु भएको उनले जानकारी दिए । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ ।


क्लिकमान्डु