राप्रपा अध्यक्ष लिङदेनले संसदीय मर्यादाविपरीत बजेट पुस्तिका च्याते



काठमाडौं । राप्रपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले संसद्‍को रोस्ट्रममा उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद लिङदेनले यसरी आक्रोश व्यक्त गरेका हुन् ।

आफू कम रिसाउने मान्छे भएको तर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हातमा परेपछि तातिएको उनको भनाइ थियो । उनले संसदीय मर्यादा विपरीत हुने भन्दै उक्त बजेट पुस्तिका पोडियममै राखेको पनि बताएका थिए ।

‘म कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ,’ सांसद लिङदेनले भनेका छन्, ‘यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ राख्छु ।’

लिङदेनले उक्त बजेट पुस्तिकाप्रति आफ्नो मात्रै नभएर अधिकांश सदस्यहरुको मनको कुरा रहेको पनि उनको जिकिर थियो । लिङदेनले यसरी बजेट पुस्तिका च्यातिरहँदा राप्रपाका सांसदहरुले ताली बजाइरहेका थिए । सरकारले राज्य स्रोतमाथि मनपरी गरेको भन्दै आफूले यस्तो गरेको दाबी गरेका थिए । बजेट पुस्तिकामा ठेगाना उल्लेख नै नगरिकन योजना राखेकोमा पनि आशंका व्यक्त गरेका थिए ।

बजेट तथा योजना राख्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै उनले यस्तो व्यवहारले व्यवस्थामाथि नै संकट पैदा गर्ने पनि बताएका थिए । योजना राखिएकोमा उनले भौतिकमन्त्री रघुवीर महासेठलाई कुन विधि र प्रक्रियाले योजना राखिएको हो भन्दै प्रश्न पनि सोधेका थिए ।


क्लिकमान्डु