सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन बैंक खातामा कति हुनुपर्छ पैसा ?



काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन बैंक खातामा कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिने भएको छ ।

कम्पनीको आईपीओका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तिर्नुपर्ने भएको र कम्तीमा ५० कित्ता आवेदन दिनुपर्ने भएकाले खातामा १८ हजार ४५ रुपैयाँ चाहिने भएको हो ।

बुक बिल्डिङ विधिमार्फत पहिलोपटक खुल्न लागेको आईपीओमा आवेदन दिँदा खातामा १८ हजार ४५ रुपैयाँ नभए आवेदन स्वतः रद्द हुनेछ ।

सर्वोत्तम सिमेन्टको आईपीओ संस्थागत लगानीकर्तालाई बाँडफाँट गर्ने क्रममा कट अफ प्राइस प्रतिकित्ता ४०१ रुपैयाँ तय भएको थियो ।

बुक बिल्डिङ निर्देशिकाअनुसार संस्थालाई कटअफ मूल्य निर्धारण भइसकेपछि १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर जारी गर्न लागिएको हो ।

सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर जारी गर्न लागेको छ ।

त्यसको ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ । बाँकी ६० प्रतिशत अर्थात् ३६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुल्नेछ ।


क्लिकमान्डु